जेनजेड रेड फोर्स नेपालले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।
फोर्सले नैतिक जिम्मेवारी लिँदै यथाशीघ्र गृहमन्त्री पदबाट राजीनामा दिन माग गरेको हो। साथै, उनीमाथि निष्पक्ष छानबिन गर्न सरकारलाई मार्ग प्रशस्त गरिदिन आग्रह गर्दै जनताको विश्वासमाथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको बताइएको छ।
जनताले गुरुङ र उनको पार्टीलाई सुशासन स्थापना गर्न र भ्रष्टाचारको अन्त्य गर्ने आशामा मत दिएर सत्तामा पठाएको जिकिर गर्दै तर आजको अवस्थाले त्यो विश्वास गम्भीर रूपमा कमजोर भएको फोर्सको तर्क छ।
जेनजी आन्दोलनको बलमा राजनीतिमा आएको व्यक्तिले कानुन, संविधान र न्यायिक प्रक्रियाको गहिरो ज्ञानबिना चारैतिर मानिसहरूलाई पक्राउ गर्दै हिँडेको र यसको परिणाम के भयो? भन्दै गुरुङले पक्राउ गरेका अधिकांश व्यक्तिहरू जेलबाट छुटिसकेको फोर्सको भनाइ छ।
'जनताले तपाईलाई र तपाईँको पार्टीलाई सुशासन स्थापना गर्न र भ्रष्टाचारको अन्त्य गर्ने आशामा मत दिएर सत्तामा पठाएका हुन्। तर आजको अवस्थाले त्यो विश्वास गम्भीर रूपमा कमजोर भएको छ। जेनजी आन्दोलनको बलमा राजनीतिमा आएको व्यक्तिले कानुन, संविधान र न्यायिक प्रक्रियाको गहिरो ज्ञानबिना चारैतिर मानिसहरूलाई पक्राउ गर्दै हिँड्नुभयो। यसको परिणाम के भयो? तपाईँले पक्राउ गरेका अधिकांश व्यक्तिहरू आज जेलबाट छुटिसकेका छन्,' फोर्सद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस्तो छ फोर्सको भनाइ:
जेनजेड रेड फोर्स नेपाल केन्द्रीय कार्यालय
आदरणीय गृहमन्त्री सुधन गुरुङज्यू,
जनताले तपाईलाई र तपाईको पार्टीलाई सुशासन स्थापना गर्न र भ्रष्टाचारको अन्त्य गर्ने आशामा मत दिएर सत्तामा पठाएका हुन्। तर आजको अवस्थाले त्यो विश्वास गम्भीर रूपमा कमजोर भएको छ। Genz आन्दोलनको बलमा राजनीतिमा आएको व्यक्तिले कानुन, संविधान र न्यायिक प्रक्रियाको गहिरो ज्ञानबिना चारैतिर मानिसहरूलाई पक्राउ गर्दै हिँड्नुभयो। यसको परिणाम के भयो? तपाईले पक्राउ गरेका अधिकांश व्यक्तिहरू आज जेलबाट छुटिसकेका छन्।
तपाईले कहिल्यै कुनै पार्टीमा नलाग्ने र मन्त्री पनि नबन्ने बताउनुभएको थियो। तर Genz आन्दोलनका १० बुँदे माग पूरा गर्नुको सट्टा राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्झौता गरेर टिकट लिएर चुनाव लड्नु भयो र अन्ततः गृहमन्त्री बन्न जानुभयो। यो व्यवहार तपाईंका आफ्नै भनाइहरूसँग मेल खाँदैन। एकातिर तपाई सुशासनको वकालत गर्दै जनतालाई देखाउने काम गर्नुहुन्छ, अर्कोतिर पछाडि दीपक भट्ट जस्ता चर्चित बिचौलियासँग साँठगाँठ गरेर व्यक्तिगत स्वार्थ पूरा गर्ने काम गर्नु हुन्छ। सार्वजनिक रूपमा आएको तथ्य अनुसार, सेटिङमा सञ्चालन भएको एक लघु बीमा कम्पनीमा तपाईको पनि साझेदारी रहेको र सो कम्पनीको करिब २५ लाख रुपैयाँ बराबरको सेयर तपाईले आफ्नो सम्पत्ति विवरणमा लुकाउनुभएको कुरा बाहिर आएको छ। हामीले यसअघि तपाईंको सम्पत्तिको स्रोतबारे विस्तृत भिडियोसमेत बनाएका थियौं। तपाईले “गरिब भएर जन्मिनु तिम्रो गल्ति होइन, तर गरिब भएर मर्नु तिम्रो गल्ती हो” भन्नुभएको थियो। तर व्यवहारमा भने तपाई आफैं बिचौलियासँग मिलेर अकुत सम्पत्ति कमाउने बाटोमा लागेको देखिनु अत्यन्तै विडम्बनापूर्ण छ। यो त तपाईको एउटा काण्ड बाहिर निस्कियो, खोज्दै जाने हो भने तपाईको अझै धेरै काण्ड निस्किन सक्ने हामीले आसंका गरेका छौं।
त्यसैले, नैतिक जिम्मेवारी लिंदै तपाईले यथाशीघ्र गृहमन्त्री पदबाट राजीनामा दिनुहोस् र तपाईमाथि निष्पक्ष छानबिन गर्न सरकारलाई मार्ग प्रशस्त गरिदिनुहोस्। जनताको विश्वासमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन।
धन्यवाद।
स्मृति तिमल्सिना केन्द्रीय संयोजक
प्रकाशित: ७ वैशाख २०८३ १५:०९ सोमबार





