२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

सुकुम्बासीदेखि सहकारी पीडितका समस्या समाधान गर्न माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले विभिन्न विषयमा आवाज उठाएका छन्।  शून्य समयमा बोल्दै सांसदहरुले सुकुम्बासी समस्यादेखी सहकारीपीडितका समस्याहरुप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।  

सांसद मनरुपा शर्माले काठमाडौंका नदीकिनारबाट हटाइएका सुकुम्बासीको बालबच्चा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक  राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउनु पर्ने माग गरेकी छिन्।  

त्यसैगरी सांसद रेणु चन्दले सुकुम्बासीको मानवअधिकार र मौलिक अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्। उनले सुकुम्बासी राखिएका होल्डिङ सेन्टरमा शुद्ध खानपानको प्रबन्ध गर्न माग गरेकी छिन् । सांसद रुक्मिणी कोइरालाले कोशी सम्झौताअनुसार भारदहको पुल निर्माण गर्दा लिइएको जग्गाको क्षतिपूर्ति प्राप्त हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराएकी थिइन्।  

सांसद विष्णुकुमारी सापकोटाले सहकारी पीडितले न्याय नपाएको भन्दै तत्काल  उनीहरुको समस्या समाधान गर्न माग गरेकी छिन्। सांसद विष्णुबहादुर विश्वकर्माले हुम्लाको चङ्खेलीमा यही जेठ ४ गतेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको, पशु चौपायाको ज्यान गएका उल्लेख गर्दै स्थानीयवासीलाई राहत उपलब्ध गराउन माग गरेका छन्।  

त्यसैगरी सांसद श्रीकृष्णप्रसाद अधिकारीले सहकारी पीडितलाई फिर्ता दिन लागेको रकम सरकारी ढुकुटीबाट दिएको हो वा सहकारीमा बदमासी गरेकाहरूबाट उठाएर दिन लागेको हो भन्नेबारेमा सदनलाई जानकारी दिनुपर्ने माग गरेका छन्।

सांसद सावित्री मल्लले दैलेखको जलजलेमा ग्यास रहेकोसम्बन्धी विवरण सरकारलाई उपलब्ध गराइसकेको भए पनि दोस्रो चरणको काम ठप्प भएकामा सरकारको ध्यानाकर्षण गराएकी छिन्।  

प्रकाशित: ८ जेष्ठ २०८३ १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App