१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको आधिकारिकता विवादमा छानबिन गर्न माग

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्णय प्रभावित पार्न आर्थिक चलखेल भएको भन्ने  समाचारप्रति कांग्रेसनिकट छ भ्रातृ संस्थाको  ध्यानाकर्षण भएको छ। 

नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्। 

विज्ञप्तिमा नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको तत्कालीन निर्णय र त्यसपछि सर्वोच्च अदालतमा भएको न्यायिक निरूपणको प्रक्रियामा आर्थिक चलखेल गरी निर्णय प्रभावित पारिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। 

लोकतान्त्रिक आन्दोलनको धरोहर तथा विधिको शासनका पक्षमा निरन्तर संघर्षरत नेपाली कांग्रेसको आधिकारिकता निर्धारणजस्तो संवेदनशील विषयमा निहित स्वार्थ समूहले आर्थिक लेनदेनमार्फत निर्णय प्रक्रियालाई प्रभावित पार्ने कार्य क्षम्य हुन नसक्ने उनीहरूको भनाइ छ।  

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा सरकारका जिम्मेवार निकायहरूले सत्यतथ्य र प्रमाणका आधारमा छानबिन गरी दोषीलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौँ।’ 

संस्थाहरूले आधिकारिकतासम्बन्धी निर्णय प्रक्रियामा आर्थिक चलखेल भएको भन्ने आरोपबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् ।   

प्रकाशित: १८ कार्तिक २०८३ १६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App