वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान, नीतिगत सुधार तथा व्यवसायीहरूको हकहितका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र बैरो संघबीच जेठ १९ गते निर्णायक वार्ता हुने भएको छ। श्रम मन्त्रालयले अध्यक्ष भुवन सिंह गुरुङसहित संघको कार्यसमितिलाई औपचारिक पत्र पठाएर वार्ताका लागि मन्त्रालयमा बोलाइसकेको जनाएको छ।
यसैबीच संघभित्र केही समूहले नियोजित रूपमा कृत्रिम विवाद सिर्जना गरी वार्ता बिथोल्ने प्रयास गरेको भन्दै अध्यक्ष गुरुङले व्यवसायीहरूलाई भ्रम र हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। उनले अहिलेको आवश्यकता संस्था फुटाउने नभई व्यवसायीहरूको अस्तित्व जोगाउने भएको बताएका छन्।
केही दिनअघि श्रममन्त्री यादवसँग भएको भेटमा संघले वैदेशिक रोजगार क्षेत्र सुधारका लागि स्पष्ट खाका प्रस्तुत गरेको थियो। छलफलमा ‘फ्री भिसा, फ्री टिकट’ नीतिको व्यवहारिक जटिलता, श्रमिक लागत, मागपत्र प्रमाणीकरण, भिसा प्रक्रिया, विभागीय दबाब तथा अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित विषय उठाइएको थियो।
अध्यक्ष गुरुङले सरकारसँग गम्भीर संवाद भइरहेका बेला संघलाई कमजोर बनाउने गतिविधि व्यवसायी हितविपरीत भएको बताए। ‘आजको आवश्यकता संस्था भाड्ने होइन, व्यवसायीहरूको अस्तित्व जोगाउने हो। अहिले व्यक्तिगत स्वार्थभन्दा व्यवसायीहरूको साझा हितलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने।
संघले श्रममन्त्रीसमक्ष बुझाएको ज्ञापनपत्रमा ‘फ्री भिसा, फ्री टिकट’ नीतिको पुनरावलोकन, वास्तविक लागतअनुसार शुल्क संरचना निर्धारण, मागपत्र प्रमाणीकरण सहज बनाउने, विदेशस्थित श्रम सहचारीलाई प्रभावकारी बनाउने तथा विभागीय प्रक्रिया पारदर्शी र व्यवहारिक बनाउनुपर्ने माग राखेको छ।
यसबीच अध्यक्ष गुरुङले केही असन्तुष्ट तथा राजीनामा दिएका सदस्यहरूको राजीनामा अस्वीकृत गर्दै अहिलेको चुनौतीपूर्ण अवस्थामा विभाजन होइन, एकता मार्फत व्यवसायी हितका लागि अघि बढ्नुपर्ने सन्देश दिएका छन्। उक्त निर्णयलाई अधिकांश व्यवसायीहरूले सकारात्मक रूपमा लिएको बताइएको छ।
संघका पूर्वअध्यक्ष प्रेमबहादुर कटवाल, रोहन गुरुङलगायत वरिष्ठ व्यवसायीहरूले पनि अहिलेको समय आन्तरिक संघर्षभन्दा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
अध्यक्ष गुरुङले जिल्ला प्रशासन कार्यालयको पाँच बुँदे निर्देशनलाई संघले सम्मानपूर्वक पालना गरिरहेको स्पष्ट पार्दै वर्तमान कार्यसमितिलाई अवैधानिक भनिएको वा अर्को समूहलाई आधिकारिकता दिइएको कतै उल्लेख नभएको दाबी गरे। उनले संघको लेटरप्याड दुरुपयोग नगर्न र अनावश्यक भ्रम नफैलाउन सम्बन्धित पक्षलाई चेतावनी समेत दिएका छन्।
व्यक्तिगत पीडाका बीच पनि व्यवसायीहरूको हितका लागि आफू निरन्तर सक्रिय रहेको भन्दै गुरुङले आफ्ना बुबाको निधनपछि काजकिरियामा बसेकै अवस्थामा पनि मन्त्रालय र सरोकारवालासँग संवाद जारी राखेको बताए।
‘म व्यक्तिगत रूपमा कठिन परिस्थितिमा हुँदाहुँदै पनि व्यवसायीहरूको भविष्य बचाउन निरन्तर खटिरहेको छु। यस्तो अवस्थामा समेत संस्था भाड्ने प्रयास हुनु दुःखद हो,’ उनले भने।
प्रकाशित: १५ जेष्ठ २०८३ १०:४७ शुक्रबार





