२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा सचिवालय बैठकले के-के निर्णय गर्‍यो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटदेखि भूमिहीन सुकुम्बासी समस्या समाधान र पार्टीको प्रथम महाधिवेशनसम्मका महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता मनिष झाले यी विषयमा विस्तृत जानकारी दिएका हुन्।

आगामी स्थानीय तह निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार बन्न चाहनेले पार्टीको ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्नेछ।

बैठकले ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३’ पारित गर्दै यसलाई कार्यान्वयन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ गठन गरेको छ।

प्रवक्ता झाका अनुसार अब पहुँच र भनसुनका भरमा नभई तोकिएको प्रशिक्षण र परीक्षा पास गरेपछि मात्रै उम्मेदवार बन्न पाइनेछ।

बैठकले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका अव्यवस्थित बसोबास र भूमिहीनहरूको समस्या समाधानका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सरकारलाई सुझाव दिएको छ।

खोला किनारमा असुरक्षित रूपमा बसिरहेका वास्तविक सुकुम्बासीलाई आगामी चैत मसान्तभित्र सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने पार्टीको निष्कर्ष छ।

प्राधिकरणको प्रतिवेदन नआएसम्म वास्तविक भूमिहीनहरूको हकमा कुनै पनि कारबाही अगाडि नबढाउन रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ।

साथै, स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकार प्रयोग गरी विना विकल्प संरचना भत्काउने र डोजर चलाउने कार्य गरिरहेको भन्दै त्यसलाई तत्काल रोकेर व्यवस्थित समाधान खोज्न आग्रह गरिएको प्रवक्ता झाले बताए।

यसैगरी, पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न गर्न बैठकले ‘महाधिवेशन कार्यविधि–२०८३’ पारित गरेको छ। महाधिवेशनको मिति र स्थान भने तय हुन बाँकी छ।

बैठकले पार्टीको संसदीय दलको संशोधित विधानलाई समेत अनुमोदन गरेको छ।

सांगठनिक निर्णयतर्फ, बाग्मती प्रदेश समितिको सिफारिसबमोजिम बैठकले रसुवा जिल्ला समिति विघटन गरेको छ। विघटित समितिको ठाउँमा अब नयाँ प्रक्रियाबाट जिल्ला समिति गठन गरिने रास्वपाले जनाएको छ।

प्रकाशित: २० वैशाख २०८३ १८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App