२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

दाहालको कटाक्ष: ओलीको दम्भले भत्काएको घरमा को फर्कन्छ ?

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा (एमाले) भत्किएर ढलिसकेको घर भएको बताएका छन्।

केपी शर्मा ओलीको दम्भ र अहंकारले पार्टी ध्वस्त भएको उनको आरोप थियो। एमालेले सञ्चालन गरेको ‘घर फर्क अभियान’ प्रति लक्षित गर्दै उनले त्यस्तो घरमा अब कोही नफर्कने दाबी गरे।

‘एमालेले घर फर्क भनेर अभियान चलाएको थियो। त्यो भत्केको र ढलेको घरमा के फर्कनु ?’ बुधबार एकता कार्यक्रममा बोल्दै दाहालले प्रश्न गरे, ‘केपी ओलीको दम्भ र अहंकारले ध्वस्त भएको घर हो त्यो।’

उनले एमालेमा फर्किनेहरू पनि ‘उस्तै-उस्तै’ मात्र हुने भन्दै कटाक्ष गरे।

आफ्नो नेतृत्वमा बनेको नयाँ पार्टीलाई एमालेका केही नेताहरूले वृद्धाश्रम भनेको प्रति पनि दाहालले आक्रोश पोखे।

कम्युनिष्ट आन्दोलनका पुराना र अग्रज नेताहरू आफ्नो पार्टीमा गोलबन्द भइरहेकोतर्फ संकेत गर्दै उनले भने, ‘एमालेका केही नेताहरूले हाम्रो यो अभियानलाई हेरेर वृद्धाश्रम भने। आफ्ना पितृ र अभिभावकलाई यस्तो भन्ने हो ?’

उनले वृद्धाश्रम भन्ने टिप्पणीलाई सरकारले जेन-जी युवामाथि गरेको दमनसँग जोड्दै यस्तो मानसिकताले देश नचल्ने बताए। ‘जसरी जेनजी युवाहरूलाई दमन गरे, उनीहरूले हामीलाई वृद्धाश्रम भन्ने हो त ?’ दाहालले प्रश्न गरे।

बुधबार नेता भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ लाई आफ्नो पार्टीमा स्वागत गर्ने कार्यक्रममा बोल्दै संयोजक दाहालले एमालेप्रति आक्रामक टिप्पणी गरेका हुन्।

प्रकाशित: २६ कार्तिक २०८२ १८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App