नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइसीसी टी-२० विश्वकप खेल्न भारतको मुम्बई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले क्रिकेट नेपालको प्रगतिको पहिचान र स्वाभिमानको प्रतीक भएको बताए।
अध्यक्ष ओलीले आफूलाई पूर्वप्रधानमन्त्री वा राजनीतिज्ञको रूपमा नभई एक क्रिकेट प्रेमी सर्वसाधारण नेपाली नागरिकको हैसियतले प्रस्तुत गरेको बताए।
मुम्बईमा रहेको नेपाली टोलीलाई सम्झिँदा आफू भावुक भएको बताउँदै उनले भने, ‘हाम्रा लागि क्रिकेट एउटा खेल मात्र होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो।’
खेलाडीहरूको मेहनत र पसिनाको उच्च कदर गर्दै ओलीले राज्यले रंगशाला जस्ता पूर्वाधार निर्माण गरेर उनीहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिए। ‘खेलाडीहरूको मेहनत र पसिनाका लागि हामीले रंगशाला जस्तै अन्य विभिन्न पूर्वाधारहरू निर्माण गरेर नै तिर्नुपर्छ,’ ओलीले भने।
ओलीले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र चर्चित कमेन्टेटर एन्ड्र्यु लियोनार्दसँगका विगतका छलफलहरू स्मरण गरे। उनीहरूको उत्साह, उमंग र आत्मविश्वासले आफूलाई पनि प्रेरित गरेको ओलीको भनाइ छ।
उनले कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले यसपटक नयाँ कीर्तिमान रच्ने विश्वास व्यक्त गरे। ‘प्रिय क्याप्टेन रोहित पौडेलको नेतृत्वको नेपाली टिमले यसपल्ट नयाँ कीर्तिमान राख्नेछ र नेपालको शिर ठाडो बनाउनेछ,’ उनले भने।
हारजित खेलको पाटो भए पनि जित्ने उद्देश्यका साथ मैदान उत्रिनुपर्नेमा उनले जोड दिए। अध्यक्ष ओलीले क्रिकेट जगतमा नेपाल एक उदाउँदो नक्षत्र भएको टिप्पणी गरे।
‘हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पमा छौँ, यसमा क्रिकेट एउटा अभिन्न अंग हो,’ उनले थपे।
उनले मेचीदेखि महाकालीसम्म र प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूको साथ र समर्थन राष्ट्रिय टोलीलाई रहेको भन्दै उच्च मनोबलका साथ प्रदर्शन गर्न आग्रह गरे।
प्रकाशित: २४ माघ २०८२ १८:१५ शनिबार


-600x400.jpg)


