३१ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप निरन्तरता दिने विषयमा कुराकानी भएको थियो।

साथै, नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग तथा आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको थियो।

भेटका क्रममा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि मन्त्रालयले विभिन्न नीतिगत तथा संरचनागत सुधारका काम अघि बढाइरहेको जानकारी दिए।

मन्त्री पोखरेलले विद्यालय शिक्षासम्बन्धी महत्वपूर्ण नीतिगत दस्तावेजका रूपमा रहेको शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको र त्यसमा आवश्यक सुधारका विषयसमेत समेटिने बताए।

उनले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, शिक्षकको पेसागत विकास तथा डिजिटल शिक्षाका क्षेत्रमा पनि मन्त्रालयले काम गरिरहेको बताए।

मन्त्री पोखरेलले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा बेलायत सरकारले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्रालयले अघि बढाएका सुधारका कार्यक्रममा उपयुक्त सन्दर्भमा बेलायत सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। साथै आगामी दिनमा शिक्षा तथा खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यलाई निरन्तरता दिने विश्वाससमेत उनले व्यक्त गरे।

भेटमा बेलायती राजदूत फेनले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रसँगको सहकार्य बेलायत सरकारका लागि महत्वपूर्ण रहेको बताए। उनले शिक्षा क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। 

राजदूत फेनले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यालयका शिक्षकहरूको पेसागत विकासका लागि ब्रिटिस काउन्सिलमार्फत सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

जलवायुजन्य विपद्को सामना गरिरहेको अवस्थामा बेलायत सरकार नेपाल सरकारको साथमा रहेको उनको भनाइ थियो।

प्रकाशित: ३० भाद्र २०८३ १८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App