भारतको मध्य प्रदेशस्थित रेवाका भारतीय जनता पार्टी (भाजपा) सांसद जनार्दन मिश्राले किसानबारे दिएको एउटा अभिव्यक्ति अहिले चर्चामा छ।
उनले किसानले वर्षमा तीन महिना मात्रै काम गर्ने र बाँकी नौ महिना तास खेल्ने, गुट्खा खाने, रक्सी पिउने तथा गाँजा सेवन गरेर बिताउने बताएका छन्। उनको यो टिप्पणीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना भइरहेको छ।
एक कार्यक्रममा बोल्दै मिश्राले किसानले तीन महिनाभन्दा बढी काम नगर्ने बताएका हुन्। उनले किसानको काम गर्ने समयलाई तीन महिनामा सीमित गर्दै बाँकी नौ महिना उनीहरू के गरेर बिताउँछन् भन्ने प्रश्न गरेका थिए।
उनले भने, ‘किसान तीन महिनाभन्दा बढी काम गर्दैनन्। बाँकी नौ महिना के गर्छन्? तास खेल्छन्, राजश्री (गुट्खा) खान्छन्, रक्सी पिउँछन् र गाँजा तानेर जय भोले भन्छन्। नौ महिना त्यसै बसेर बिताउँछन् अनि खेतीबाट केही हुँदैन भन्छन्।’
मिश्राको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। किसानले खेतीपातीका लागि वर्षभरि नै मेहनत गर्नुपर्ने अवस्थामा उनीहरूको कामलाई तीन महिनामा सीमित गरेर गरिएको टिप्पणीप्रति असन्तुष्टि जनाइएको छ।
लाइभ हिन्दुस्तानका अनुसार मिश्राले यसअघि पनि विभिन्न विषयमा दिएका अभिव्यक्तिका कारण चर्चा पाएका थिए। सन् २०२५ जुलाईमा विद्यार्थीलाई ल्यापटप किन्न दिइने रकम अभिभावकले अन्य काममा खर्च गर्न सक्ने भन्दै उनले गाँजा सेवनको प्रसंग जोडेका थिए।
किसानले वर्षमा थोरै समय मात्रै काम गर्ने टिप्पणी गर्ने मिश्र पहिलो नेता होइनन्। यसअघि राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले पनि किसानले वर्षमा २५ देखि ३० दिन मात्रै काम गर्ने र बाँकी समय आराम गर्ने बताएका थिए।
आफू पनि किसान भएको उल्लेख गर्दै उनले किसानले मुख्य रूपमा बाली लगाउने र काट्ने समयमा मात्रै काम गर्ने बताएका थिए। उनको त्यो अभिव्यक्तिको पनि आलोचना भएको थियो।
प्रकाशित: २५ कार्तिक २०८३ २०:१६ बुधबार





