१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पाइला पाइलामा भ्रष्टाचार छ, निर्मूल पार्न समय लाग्छ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले देशमा भ्रष्टाचार व्यापक रूपमा फैलिएको र यसलाई निर्मूल पार्न समय लाग्ने बताएकी छन्।

नागरिक न्युजको विशेष संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘देश सिद्धिएको भ्रष्टाचारले हो। पाइला पाइलामा भ्रष्टाचार छ। यसलाई निर्मूल पार्न करिब एक वर्ष लाग्छ।’

उनले देशको दुर्दशाको मुख्य कारण भ्रष्टाचार नै भएको जिकिर गरिन्। ‘कहाँ कसले खाएको छ, म भन्दिनँ। त्यो अख्तियारले भन्छ, सीआईबीले भन्छ। तर देश सिद्धिएको भ्रष्टाचारले हो, अरू कुनै विदेशी तागत वा शक्तिले होइन,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम भएर लागिपरेको दाबी गरिन्। ‘सुशासन एक दिनलाई होइन, सधैँलाई चाहिन्छ। भ्रष्टाचार नियन्त्रण पनि निरन्तर गर्नुपर्छ,’ उनले भनिन्, ‘अहिले एक थरी कर्मचारीहरू अख्तियारको डरले थरथर भएका छन्। जसले गर्नुपर्ने काम पनि गरिरहेका छैनन्। जसले अकुत कमाएका छन्, उनीहरूको सम्पत्ति छानबिन पनि भइरहेको छ।’

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार हाम्रो समाजको संस्कृतिजस्तै बनिसकेकोमा चिन्ता व्यक्त गरिन्। ‘आधा सरो मान्छे भ्रष्टाचार गरेकोमा खुसी छन्। मौका पाउँदा पनि केही नगर्ने ? भन्ने खालको हाम्रो संस्कृति नै बन्न लाग्यो,’ उनले भनिन्, ‘आफ्ना मान्छेले गरे ठिक, अर्काले गरे बेठिक भन्ने प्रवृत्ति समाजमा हावी छ।’

उनले भ्रष्टाचारको जालो तोड्न सरकारले कर्मचारी हेरफेर गर्ने, काम नगर्नेलाई हटाउने र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम गरिरहेको बताइन्।

साथै, विदेशमा लुकाएको सम्पत्ति छानबिनका लागि पनि सरकारले पहल गरिरहेको उनले जानकारी दिइन्।

हेर्नुहोस् पूरा अन्तर्वार्ता :

प्रकाशित: ३ मंसिर २०८२ २२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App