२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
राजनीति

लिची बगान जग्गा प्रकरण: पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगानको जग्गासम्बन्धी घुस प्रकरणमा संलग्न रहेको अभियोगमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठमाथि भ्रष्टाचारको आरोप लगाएको हो।

बुधबार विशेष अदालतमा दर्ता गरिएको मुद्दामा दुई पूर्वमन्त्रीका साथै घुस लेनदेनमा संलग्न सुजन लामासहित पाँच जना बिचौलियालाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले पूर्वमन्त्री गुप्तासँग ७८ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ भने अन्य प्रतिवादीहरूलाई कसुरका आधारमा अलग-अलग बिगो कायम गरिएको छ।

कास्कीको पोखरा-१६, बाटुलेचौरस्थित लिची बगान भनेर चिनिने करिब १३४ रोपनी सरकारी जग्गा हडप्ने योजनामा मन्त्री, कर्मचारी र बिचौलियाको संलग्नता देखिएको थियो।

यस प्रकरणमा तत्कालीन मन्त्री गुप्ता र बिचौलिया सुजन लामाबीच घुस लेनदेनबारे भएको कुराकानीको अडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अडियो सार्वजनिक भएपछि विवादमा तानिएका मन्त्री गुप्ताले गत असार ३१ गते पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: २२ आश्विन २०८२ १५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App