३१ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस इतर समूहको भेला सकियो, समापनमै धर्मसम्बन्धी शब्दावलीलाई लिएर विवाद

नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला आइतबार काठमाडौंमा सम्पन्न भएको छ। सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजित भेलाको समापन सत्र भने नेतृत्व तहको अनुपस्थिति र धर्मसम्बन्धी विषयमा देखिएको विवादका कारण चर्चामा रह्यो।

भेलाको समापन समारोहमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी भएनन्। पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि विदेशमा रहेका बेला कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका खड्का साउन २९ गते भएको उद्घाटन सत्रमा भने सहभागी भएका थिए।

समापन सत्रमा भेलाका निर्णयहरू वाचन गर्ने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबीच धर्मसम्बन्धी शब्दावलीलाई लिएर विवाद भएको थियो।

महतले तयार पारेको निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य समावेश गरिएको थियो। निधिले भने उक्त शब्दावलीप्रति असहमति जनाउँदै त्यसको सट्टा ‘धार्मिक स्वतन्त्रता’ मात्रै उल्लेख गर्नुपर्ने अडान राखेका थिए।

विषयमा विवाद बढेपछि मञ्चमै दुई नेताबीच निर्णय लेखिएको कागज तानातान भएको थियो। त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए।

देउवाको हस्तक्षेपपछि महतले तयार पारेकै ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा वाचन गरिएको थियो।

तीन दिनसम्म चलेको भेलामा कांग्रेसको आगामी राजनीतिक दिशा, संगठन तथा समसामयिक विषयमा छलफल भएको थियो। भेलाको समापन भने नेताहरूबीच देखिएको मतभेदका कारण केही असहज बनेको थियो।

प्रकाशित: ३१ श्रावण २०८३ १५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App