शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्तिलाई लिएर विवाद उत्पन्न भएको छ। निजी मेडिकल कलेजसँग स्वार्थ बाझिने व्यक्तिलाई राजनीतिक पहुँचका आधारमा नियुक्त गरिएको आरोप सार्वजनिक भएपछि नियुक्तिमाथि प्रश्न उठेको हो।
विश्वविद्यालयका उपकुलपति डा सुनिलकुमार जोशी र रजिस्ट्रार भीम चन्दको नियुक्तिको चिकित्सा शिक्षा सुधार अभियन्ता डा गोविन्द केसीले विरोध गरेका छन्।
धनगढीमा जारी आफ्नो २४औँ सत्याग्रहका क्रममा उनले सरकारी अस्पताल तथा विश्वविद्यालयमा निजी मेडिकल कलेजसँग सम्बन्धित व्यक्तिलाई नेतृत्वमा नियुक्त गर्नु चिकित्सा शिक्षाको हितविपरीत हुने बताएका छन्।
सार्वजनिक रूपमा आएका अभिव्यक्ति अनुसार रजिस्ट्रार चन्द निजी मेडिकल कलेजसँग आबद्ध व्यक्ति हुन् र विश्वविद्यालयको संरचना तथा व्यवस्थापनमा आफ्नो प्रभाव बढाउने गरी प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ।
विश्वविद्यालयमा स्थायी दरबन्दी सिर्जना गरी लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना गर्नुको सट्टा करारमार्फत नियुक्ति गर्ने तयारी भइरहेको आरोप पनि लगाइएको छ।
प्रकाशित: १० श्रावण २०८३ १८:०६ आइतबार





