३ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

संविधान संशोधन अग्रगामी र उपलब्धिको रक्षा गर्ने खालको हुनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन आवश्यक भए पनि मुलुकलाई पछाडि धकेल्ने नभई अग्रगामी र संविधानका उपलब्धिको रक्षा गर्ने दिशामा अघि बढाउनुपर्ने बताएका छन्। 

संविधान दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले संविधान संशोधनका नाममा स्वेच्छाचारी ढंगले अघि बढ्ने, बहुमतको दुरुपयोग गर्ने वा संविधानविपरीतका काम गर्ने प्रवृत्तिबाट मुलुकलाई जोगाउनुपर्ने बताए।  

उनले संविधानलाई देशको मूल कानुनका रूपमा रक्षा गर्नु अहिलेको प्रमुख दायित्व भएको बताउँदै  संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सचेत नागरिक शक्ति निर्माण गर्नुपर्ने  बताए। 

ओलीले संविधान संशोधनलाई अस्वीकार गर्न नहुने भएपनि संशोधनका नाममा प्राप्त उपलब्धि कमजोर पार्ने प्रयास स्वीकार्य नहुने बताए। 

‘संविधान संशोधन सकारात्मक हुनुपर्छ। संविधानमा रहेका कमीकमजोरीलाई अनुभवका आधारमा सच्याउँदै समयानुकूल संशोधन गर्न सकिन्छ,’ ओलीले भने। संविधान संशोधन देशको आवश्यकता र अनुभवका आधारमा हुनुपर्ने धारणा यसअघि पनि उनले सार्वजनिक गरेका छन्। 

ओलीले वर्तमान अवस्थामा संविधानको रक्षा, लोकतन्त्रको रक्षा र संवैधानिक व्यवस्थाको संरक्षणलाई प्रमुख कार्यभारका रूपमा लिनुपर्ने बताए। उनले संविधान र कानुनी राज्यका मान्यताविपरीत हुने गतिविधि रोक्न संविधान पक्षधर शक्तिहरू सचेत हुनुपर्ने बताए। 

प्रकाशित: ३ आश्विन २०८३ १६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App