नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा विद्यमान यथास्थिति तोड्न अब सडकबाटै अर्को शक्तिशाली क्रान्तिको आवश्यकता रहेको बताएका छन्।
पुराना दल र शक्तिहरूको मानसिकता जनदबाबबिना परिवर्तन नहुने संकेत गर्दै उनले शिक्षाजस्ता महत्त्वपूर्ण क्षेत्रमा सुधारका प्रयासहरूमाथि नियोजित हमला भइरहेको आरोप लगाए।
बिहीबार राजधानीमा अखिल (क्रान्तिकारी) द्वारा आयोजित ‘शैक्षिक संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुराना शक्तिहरूले सुधारका एजेन्डा रोक्न थालेपछि आफूलाई फेरि आन्दोलनको नेतृत्व गर्नुपर्ने महसुस भएको बताए।
‘मैले कहिलेकाहीँ भन्ने गर्छु, नेपालमा अर्को क्रान्ति चाहिएकै छ,’ आक्रोशित मुद्रामा प्रस्तुत भएका दाहालले भने, ‘मैले सशस्त्र क्रान्ति भनेको होइन। तर, सडकबाट एउटा ठूलै क्रान्ति नभएसम्म यिनीहरूको दिमागमा छिर्ने देखिएन।’
उनको टिप्पणी विशेषगरी विद्यालय शिक्षा विधेयकलाई नेकपा (एमाले) र नेपाली कांग्रेसले रोकेकोप्रति लक्षित थियो। शिक्षा क्षेत्रमा सुधार गर्न खोज्दा पुराना दलहरूबाटै बारम्बार हमला हुने गरेको भन्दै दाहालले परिवर्तनका एजेन्डाहरूलाई संस्थागत हुन नदिने प्रवृत्ति हाबी भएको सुनाए।
‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ, तर हामीले ब्युरोक्रेसीमा, हामीले न्यायपालिकामा, हामीले ठूला र पुराना भनिएका पार्टीका नेताहरूको दिमागमा क्रान्ति ल्याउन सकेका छैनौं उनले भने, ‘त्यसैकारण एउटा नयाँ क्रान्ति, एउटा नयाँ आन्दोलन यो देशमा आवश्यक छ।’
उनले आफू फेरि एकपटक नयाँ आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताउँदै जनतामा जानुको तात्पर्य पनि यही भएको स्पष्ट पारे।
प्रकाशित: २२ श्रावण २०८२ १५:४२ बिहीबार





