नेपाली कांग्रेसले आज (शनिबार) देशभर क्रियाशील सदस्यता वितरणका लागि खटिने प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम गर्दैछ।प्रतिनिधिहरूका लागि दिउँसो २ बजे सानेपामा अभिमुखीकरण कार्यक्रम राखिएको उपसभापति पुष्पा भुषालले नागरिकन्युजलाइ जानकारी दिइन्।
निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरूको नाम शनिबार दिउँसो विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ। पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया अगिाडि बढाउन लागेको हो।
प्रतिनिधिसभा निर्वाचनपछि चैत १०-११ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज (१६-१९) मा १५ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको थियो। कार्यतालिकाअनुसार चैत २१ (आज)देखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने भनिएको थियो।
महाधिवेशनका लागि कांग्रेसले वैशाख १ देखि मसान्तसम्म देशभरका वडाहरूबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने गर्ने भएको छ। सदस्यता अद्यावधिकका लागि कांग्रेसले बैशाखभर एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने छ।
एक महिने सदस्यता अद्यावधिक अभियानपछि वडाहरूले क्रियाशील सदस्यता जेठ १५ सम्म प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नु पर्नेछ। यस्तै क्षेत्र र जिल्लाले सदस्यता ‘इन्ट्री’ गरेर जेठ २५ सम्म केन्द्रमा पठाइसक्नु पर्ने छ।
केन्द्रले सदस्यतामा आवश्यक छानबनि गरेर अन्तिम टुंगो लगाउने मिति असार १५ का लागि तोकिएको छ। यस्तै असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्ने कांग्रेसको कार्यतालिका छ।
प्रकाशित: २१ चैत्र २०८२ १२:५३ शनिबार





