७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले भन्यो: निर्वाचनमा पराजय भोग्नुमा सम्पूर्ण पार्टी संरचना जिम्मेवार

नेपाली कांग्रेसले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन ०८२ पश्चात् आफ्नो प्रारम्भिक समीक्षा सार्वजनिक गर्दै निर्वाचन परिणामलाई उच्च लोकतान्त्रिक संस्कारअनुसार आत्मसात गरेको जनाएको छ। पार्टीले निर्वाचनमा सहभागी सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै विजयी दल तथा उम्मेदवारहरूलाई बधाई दिएको छ।

उपसभापति विश्वप्रकाश शर्माले बैठकमा पेस गरेको समीक्षामा सरकारले, निर्वाचन आयोग, सुरक्षा निकाय तथा राष्ट्रसेवक कर्मचारीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरिएको छ। कांग्रेसले लोकतान्त्रिक प्रणालीप्रति नेपाली जनताको प्रतिबद्धतालाई सकारात्मक संकेतका रूपमा लिँदै आगामी दिनमा प्रमुख प्रतिपक्षीको रूपमा रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

हारको स्वीकारोक्ति र जिम्मेवारी

कांग्रेसले यसपटकको निर्वाचनमा पराजय व्यहोर्नुको प्रमुख कारण आफैंको कमजोरी भएको स्वीकार गरेको छ। समयमै सुधार, परिवर्तन र मतदातासँग प्रभावकारी संवाद गर्न नसक्दा पराजय भएको निष्कर्ष निकालिएको छ। समीक्षामा नेतृत्व मात्र नभई सम्पूर्ण पार्टी संरचना नै जिम्मेवार रहेको उल्लेख गरिएको छ।

ऐतिहासिक प्रवृत्ति दोहोरियो

०४६ सालपछिका आमनिर्वाचनहरूमा कांग्रेस पहिलो र दोस्रो दल बन्ने क्रम दोहोरिँदै आएको उल्लेख गर्दै यसपटक पनि पार्टी दोस्रो स्थानमा सीमित भएको जनाइएको छ। यस प्रवृत्तिको गहिरो अध्ययन आवश्यक रहेको पार्टीको धारणा छ।

पराजयका प्रमुख कारणहरू

समीक्षामा विभिन्न राजनीतिक, आर्थिक र सामाजिक कारणहरू औंल्याइएको छ । 

-अपेक्षित सुधार र परिमार्जन गर्न नसक्नु

-सरकारको अस्थिरता र नेतृत्वमा दोहोरिने अनुहार

-नीति तथा प्रणालीमा कमजोर कार्यान्वयन

-गठबन्धनप्रति जनआक्रोश

-बढ्दो भ्रष्टाचार र सुशासनप्रति असन्तुष्टि

-प्रशासनिक ढिलासुस्ती

-अति राजनीतिकरण र गुटबन्दी

-सामाजिक सञ्जाल र एल्गोरिदमको प्रभाव

-लोकप्रियतावादको लहर

-युवा तथा वैदेशिक रोजगारीसम्बन्धी संवेदनशील मुद्दा

-पार्टीले जनताको असन्तुष्टि विभिन्न चरणमा प्रकट हुँदै आएको भए पनि त्यसलाई समयमै सम्बोधन गर्न नसकिएको स्वीकार गरेको छ।

नेतृत्व र संगठनबारे निष्कर्ष

विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वले सकारात्मक ऊर्जा सिर्जना गरे पनि छोटो समयमा त्यो सन्देश जनतासम्म पुर्‍याउन नसकिएको उल्लेख गरिएको छ। साथै, पुरानो संगठनात्मक ढाँचाले नयाँ चुनौती सामना गर्न नसकेको पनि औंल्याइएको छ।

भविष्यको बाटो

कांग्रेसले अब गहिरो समिक्षा गर्दै संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनतासँग पुनः विश्वास निर्माण गर्ने दिशामा अघि बढ्ने जनाएको छ। पार्टीले लोकतान्त्रिक प्रणाली, संघीयता र सामाजिक न्यायसहितको उदार अर्थतन्त्रप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। 

पराजयका बाबजुद पार्टीभित्र ऊर्जा र एकता कायम रहेको दाबी गर्दै कांग्रेसले नयाँ संकल्पसहित आगामी दिनमा अघि बढ्ने संकेत दिएको छ।

प्रकाशित: ६ चैत्र २०८२ १७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App