२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसको जरा अभियान: गाउँ–गाउँमा झन् फाटाे

प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार बेहोरेको नेपाली कांग्रेसले पार्टीको आन्तरिक जीवन उकास्न भन्दै जरा अभियान सुरुवात गर्‍यो । गत चैतदेखि जिल्लागत रूपमा गरिएको यो अभियानले कांग्रेस संगठनलाई बलियो बनाउने लख नेतृत्वले काट्यो । केन्द्रीय प्रतिनिधि खटाएरै जिल्लामा अभियानको थालनी गरेको कांग्रेसको जरा अभियान कांग्रेसभित्र सर्वसम्मत बन्न सकेको देखिएन । मूलतः विशेष महाधिवेशन पक्षधर कांग्रेसीहरू यो अभियानका पक्षमा उभिए पनि इतरसमूहले यो अभियानअन्तर्गत जिल्लामा भएका कार्यक्रम बहिस्कारै गरिदिए।

‘पार्टीले थालेको भनिएको जरा अभियान सिंगो पार्टीको हैन, समूहगत भेला मात्रै हुन्, त्यसैले जरा अभियानका नाममा हुने कुनै पनि कार्यक्रममा नजान केही नेताहरूबाट सर्कुलेसन नै भयो’, जिल्लाका एक कांग्रेसी नेताले भने, ‘मूलतः गगनकुमार थापाहरूले आफूहरूको गुट बलियो बनाउनका लागि यो अभियान सुरु गरेको भन्ने बहस पनि कांग्रेसभित्र चल्यो।’

जरा अभियान भनेर कांग्रेसका तल्लो तहसम्म जागरण पैदा गर्ने लक्ष्य राखेको कांग्रेसले यसै अभियानअन्तर्गत प्रारम्भ गरेको सदस्यता अद्यावधिक कार्यक्रमले त झन् कांग्रेसीलाई फरक–फरक दुई कित्तामा विभाजन गरिदिएको छ । जिल्लामा सदस्यता अद्यावधिक गराउने र नगराउने दुवै अभियान सक्रिय रूपमा सञ्चालन भइरहेका छन् । यसले नेपाली कांग्रेसको शीर्ष तहमा देखिएको विवाद तल्लो तहसम्मै झाँगिएको पुष्टि गरिदिएको छ । ‘पार्टीको सदस्यता नवीकरण गरेपछि फेरि अद्यावधिक केका लागि गर्नुपर्‍यो?’, जिल्ला तहका एक पुराना नेताले भने, ‘यो निर्णय आम कांग्रेसी कार्यकर्ताका लागि किमार्थ सही छैन, पार्टीको सदस्यता नविकरण भइसकेपछि उसको सदस्यताको आधिकारिकता नै त्यही हो।’

पार्टीका एकाइ नेतृत्वहरू सदस्यता अद्यावधिकका लागि वडा कार्यालयहरूमा ल्यापटपसहित प्राविधिक जनशक्ति व्यवस्थापन गरेर सदस्यता अद्यावधिकका लागि खटिएका छन्, तर पार्टीको पुरानो संस्थापन पक्षका नेताहरू भने काउन्टर ‘अट्याक’ मा छन् । उनीहरूले कसैलाई पनि सदस्यता अद्यावधिक नगर्न दबाब दिँदै आएका छन् । अझ आफू पक्षधर मानिएका वडा तहका नेताहरूलाई सदस्यता अद्यावधिक कार्य प्रभावित गर्न भूमिका खेल्न निर्देशनसमेत दिएका छन् । ‘हामी वडा तहका पार्टीका कार्यकर्ता वास्तवमा अन्योलमा छौं, हामीलाई नेताहरूबाट फरकफरक निर्देशन आइरहेका छन्’, घोराही– ९ का एक कार्यकर्ताले भने, ‘पार्टीभित्र देखिएको यो समस्याले हामीलाई थप गन्जागोलमा पारेको छ।’

सदस्यता अद्यावधिक गर्ने वा नगर्ने भन्ने बहसले कार्यकर्तालाई प्रस्टरूपमा दुई खेमामा विभाजन गरिदिएको छ । यसले सिंगो पार्टीलाई हितभन्दा पनि अहित हुने संशयतिर धकेलिदिएको कांग्रेसका पुराना नेताहरूको बुझाइ छ । कांग्रेस दाङका पूर्वसभापति एवं पुराना नेता वीरकेशरी गौतमले सदस्यता अद्यावधिकको विषयले पार्टीलाई जिल्ला तहमा पनि स्पष्टरूपमा दुई समूहमा विभाजन गरिदिएको बताए। यसले पार्टी संगठनलाई थप धराशायी बनाउने खतराको बाटोमा डोर्‍याइरहेको उनको विश्लेषण छ । ‘सदस्यता अद्यावधिकको विषय अहिले कांग्रेसका लागि घाँडोको विषय र पार्टीका लागि खतराको संकेतको विषय बनेको छ’, गौतमले भने, ‘पार्टीले ल्याएको यो कार्यक्रमले कार्यकर्ता पंक्तिलाई दुई समूहमा स्पष्ट रूपमा विभाजन गरिदिएको छ, यसरी अहिले कांग्रेस कमजोर बनेको अवस्थामा थप अन्योल र मानसिकता विभाजनले पार्टीलाई कुन अवस्थामा पुर्‍याउने हो ? यसर्थ अहिले सदस्यता अद्यावधिकका विषयमा जुन खालको विभाजन देखिएको छ, यसले पार्टी संगठनलाई हित गर्दैन।’

पार्टीभित्र गुटगत राजनीतिमा अभ्यस्त बनेका वडा तहका कार्यकर्ता सदस्यता अद्यावधिक गर्ने वा नगर्ने भन्ने पक्ष–विपक्षमा स्पष्ट छन्, तर साधारण कार्यकर्तामा भने पार्टीभित्रको यो दोहोरो चरित्रले झनै अन्योल पैदा गरिदिएको छ। अझ नवकांग्रेसीलाई पार्टीभित्र देखिएको यो विभाजनले थप अन्योल पैदा गरिदिएको छ। ‘एउटा समूह जसरी भए पनि अद्यावधिक गर्नुपर्छ, नत्र पार्टीको सदस्यता रहन्न भनेर सदस्यता अद्यावधिकको लबिङमा लागेको छ, अर्को समूह यो कुनै पनि हालतमा सही छैन।’

प्रकाशित: ९ जेष्ठ २०८३ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App