नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसले अब देशको नेतृत्व सम्हाल्दै कुसाशन अन्त्य गर्ने प्रतिज्ञा गरेका छन्। जनकपुरधामस्थित तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उनले कांग्रेस सबैलाई समेटेर अघि बढ्न सक्षम रहेको दाबी गरे।
सभापति थापाले मधेशबाटै देश परिवर्तनको साहस र अठोट लिइएको उल्लेख गर्दै संघीयताको प्रभावकारी कार्यान्वयनमा मधेशको निर्णायक भूमिका रहने बताए। “अब मधेशले देशको संघीयतालाई कार्यान्वयन गराउन जरूरी छ,” उनले भने, “मधेशले नेतृत्व लिन सक्ने शिक्षा, स्वास्थ्य, विज्ञान र सूचना प्रविधिको आधार यहाँ छ।”
उनले मधेशलाई ज्ञानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित कांग्रेस मधेश झरेको स्पष्ट पारे। “मधेशको शिक्षा नभएको भए पहाडमा गणित राम्रोसँग पढाइ हुँदैनथ्यो,” उनले स्मरण गरे, “मधेशका शिक्षकले देश शिक्षित बनाएका हुन्। तर आज मधेशको शिक्षा, स्वास्थ्य र विज्ञानको अवस्था जरजर छ।” किसान, विशेषगरी उखु किसानको समस्या, वातावरणीय संकट र खानेपानी अभाव समाधान गर्न आफू मधेश आएको उनले बताए।
सभापति थापाले मधेशलाई सिंगो देशलाई पाल्न सक्ने आर्थिक शक्ति बनाउने प्रतिवद्धता व्यक्त गरे। विदेशमा रहेका नेपालीहरूको सुरक्षाका लागि आवश्यक परे दूतावास र कर्मचारी व्यवस्थापन गरी राज्यले जिम्मेवारी लिने उनले घोषणा गरे। “कुनै पनि नेपाली विदेशमा रहे पनि उसको हेरचाह गर्ने दायित्व नेपाल सरकारको हुनेछ,” उनले भने।
मधेशको वित्तीय संरचना अस्तव्यस्त भएको उल्लेख गर्दै उनले सहकारी ठगी नियन्त्रणलाई प्राथमिकतामा राख्ने बताए। “यहाँ सहकारी ठगहरूको विगबिगी बढेको छ, अब उनीहरूलाई तह लगाइन्छ,” उनले चेतावनी दिए।
युवाहरूको आकांक्षालाई सम्बोधन गर्दै उनले मधेशमा क्रिकेट एकेडेमी स्थापना गर्ने योजना सार्वजनिक गरे। “मधेशका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गर्न म चाहन्छु,” उनले भने।
आफू मधेशको ‘बेटा’ बन्न आएको उल्लेख गर्दै उनले मधेशका ऐतिहासिक व्यक्तित्वहरूको साहस र जीवनशैलीबाट प्रेरणा लिएको बताए। कांग्रेस अब शुद्धीकरण र आत्मसमीक्षासहित जनविश्वास लिन मैदानमा आएको उनको भनाइ थियो। “अब हामी मत मात्र होइन, विश्वास र भरोसा लिन आएका छौं,” उनले भने, “देशलाई सँगसँगै हिँडाउन र परिवर्तन देखाउन कांग्रेस तयार छ।”
सभापति थापाले कांग्रेसलाई युवाहरूको साझा पार्टीका रूपमा स्थापित गर्दै उनीहरूको सपना पूरा गर्ने अभियान सुरु भएको घोषणा गरे।
प्रकाशित: ६ फाल्गुन २०८२ १८:११ बुधबार





