१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

पूर्वउपसभापति खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले बारम्बार सचेत गराउँदा समेत गल्ती दोहोर्याएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।  

समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले खड्कालाई पार्टी विधान विपरीत कार्य गरेको आरोपमा ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

बैठकको निर्णयमा भनिएको छ, 'अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुनः मिति २०८२÷१२÷३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रुपमा मिति २०८२÷१२÷३० गते प्रेस विज्ञप्ती जारी गर्ने कार्य पार्टीको विधान विपरित देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ।'

बैठकले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा वक्तव्य जारी गर्ने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ।  

प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीका सदस्यहरूले अनुशासन उल्लंघन गरेका विषयमा उजुरी दर्ता गर्ने समयावधि थप गरिएको छ। अब यस्तो उजुरी २०८३ वैशाख मसान्तसम्म पेश गर्न सकिनेछ। उक्त म्यादपछि प्राप्त उजुरीहरूलाई भने कुनै कारवाही नगर्ने स्पष्ट पारिएको छ।

नेपाली कांग्रेसले पार्टी अनुशासनलाई थप सुदृढ बनाउने उद्देश्यले यस्ता निर्णयहरू गरेको जनाएको छ।

प्रकाशित: २ वैशाख २०८३ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App