नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले ‘न्यु टेस्ट’का नाममा देशलाई प्रयोगशाला नबनाउन आम मतदातासँग आग्रह गरेका छन्। शनिवार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चालिसेले यस्तो बताएका हुन्।
‘न्यु टेस्टका नाममा नयाँ नयाँ दलहरूलाई भोट हाल्दा देश प्रयोगशाला बन्नसक्नेतर्फ पनि ध्यान दिन जरुरी छ,’ उनले भने। कांग्रेस पटक–पटक जनताबाट अनुमोदित शक्ति भएकाले अहिलेको अस्थिरताको स्थितिमा यसकै विश्वास गर्न आग्रह गरे। जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने पनि उनले दाबी गरे। ‘पार्टी पुरानो हुँदैन, विचार नयाँ दिने हो, नेतृत्व नयाँ दिने हो,’ चालिसेले भने, ‘विश्वभर पुराना पार्टीहरूमा नयाँ नेतृत्व आउने गर्छ र त्यही प्रक्रियाबाट भरोसायोग्य भविष्य निर्माण हुन्छ।’
लोकतान्त्रिक अभ्यासमा नागरिकको मत निर्णायक हुने उल्लेख गर्दै उनले आगामी निर्वाचनले देशको भावी दिशा तय गर्ने बताए। ‘नागरिकले दिने मतले देशको भविष्य निर्धारण गर्छ। कांग्रेस नै देशको भविष्य हो भन्ने विश्वासका साथ पार्टी चुनावी मैदानमा उत्रिएको छ’, चालिसेले भने।
प्रकाशित: १७ माघ २०८२ १६:५७ शनिबार





