१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

आनी छोइङको नियुक्तिमाथि कांग्रेसको प्रश्न, सरकारको रबैयाको समर्थन गर्न सकिँदैन

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिप्रति प्रश्न उठाएका छन्। 

लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतालाई मात्र आधार बनाउन नहुने भन्दै उनले नियुक्तिको औचित्यमाथि प्रश्न उठाएका हुन्। 

पौडेलले नियुक्तिबारे उठेका प्रश्न सम्बोधन गर्नुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि धरपकड गरिएको भन्दै आपत्ति जनाएका छन् । मध्यरातमा नागरिकलाई पक्राउ गर्ने र पछि छाड्ने सरकारी कार्यशैलीको समर्थन गर्न नसकिने उनको भनाइ छ। 

‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने नागरिकलाई पो धरपकड? त्यो पनि मध्यरातमै अनि फेरि नागरिकको हुर्मत लिएर लुसुक्क छाड्ने ? सरकारको यस्तो रबैयाको समर्थन गर्न सकिँदैन,’ पौडेलले भनेका छन्। 

उनले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएको उल्लेख गरेका छन्। 

यस्तो महत्त्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियतासँगै योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई पनि आधार बनाउनुपर्ने उनको भनाइ छ। 

आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको उल्लेख गर्दै पौडेलले ती प्रश्नको जवाफबिना सरकारले नियुक्तिको औचित्य पुष्टि गर्न र छनोटका आधार स्पष्ट पार्न नसक्ने बताएका छन्। 

उनले सरकारलाई निर्णय सच्याउन सुझाव दिँदै प्रश्न उठाउने नागरिकलाई तर्साउने प्रवृत्ति त्याग्न आग्रह गरेका छन्। 

‘सरकारलाई मेरो विरोध होइन, सुझाव छ। राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ। गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन,’ पौडेलले भनेका छन्।

प्रकाशित: १० कार्तिक २०८३ १७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App