नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद निर्णायक मोडमा पुगेको छ। पार्टीको संस्थापन इतर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आह्वान गरेसँगै कांग्रेस औपचारिक रूपमा विभाजनको दिशातर्फ उन्मुख भएको संकेत देखिएको छ।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा इतर समूहका शीर्ष नेताहरूले राष्ट्रिय भेलामार्फत नयाँ राजनीतिक कार्यदिशा तय गर्ने घोषणा गर्दै वर्तमान नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी अधिकांश नेताले पार्टी एकताका लागि आफूहरूले पटक–पटक पहल गरे पनि नेतृत्वले बेवास्ता गरेको आरोप लगाउँदै अब नयाँ निर्णय लिन बाध्य हुने चेतावनी दिएका छन्।
कार्यक्रमका संयोजक तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला आयोजना हुने घोषणा गर्दै यो कुनै ‘थ्रेट’ नभई काम गरेर देखाउने अभियान भएको बताए।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरू निष्क्रिय नबस्ने स्पष्ट गर्दै युवालाई अघि सारेर अघि बढ्ने घोषणा गरे। सम्मानका लागि कुनै पनि सम्झौता नगर्ने उल्लेख गर्दै उनले पार्टीभित्र देखिएको अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे।
नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय भेलाले कांग्रेसको नयाँ कार्यदिशा तय गर्ने दाबी गरे। उनले सभापति गगन थापालाई पार्टी एकताको पहल गर्न आग्रह गर्दै नेतृत्वले साहस र उदारता देखाउनुपर्ने बताए।
नेता डा. शशांक कोइरालाले पार्टी विभाजनको अवस्था आए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान सभापति गगन थापाले लिनुपर्ने बताए। उनले कांग्रेसभित्र बढ्दो अविश्वास, समूहगत प्रतिस्पर्धा र विवादले पार्टीलाई कमजोर बनाइरहेको टिप्पणी गरे।
नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र ‘हुकुमी शैली’ हावी भएको आरोप लगाए। उनले बिना स्पष्टीकरण वडा सभापतिहरूलाई हटाउने कार्य निरंकुश प्रवृत्तिको उदाहरण भएको उल्लेख गर्दै कांग्रेसको मूल विचारधाराबाट नेतृत्व विचलित भएको आरोप पनि लगाए। सभापति थापाले बीपी कोइरालाको ‘प्रजातान्त्रिक समाजवाद’ भन्दा ‘सामाजिक लोकतन्त्र’लाई अघि सारेको भन्दै उनले वैचारिक स्पष्टताको माग गरे।
नेता विमलेन्द्र निधिले पनि एकताका लागि राखिएका सामान्य मागसमेत नेतृत्वले अस्वीकार गरे नयाँ राजनीतिक बाटो रोज्नु बाध्यता हुने बताए। उनले नेतृत्वले आवश्यक दूरदर्शिता र परिपक्वता देखाउन नसकेको आरोप लगाए।
कार्यक्रमभर अधिकांश नेताहरूले संवाद, सहमति र सम्मानका आधारमा पार्टी एकताको पक्षमा रहेको बताए पनि त्यसका लागि वर्तमान नेतृत्व सकारात्मक नदेखिएको निष्कर्ष सुनाए। उनीहरूको अभिव्यक्तिले राष्ट्रिय भेलाबाट नयाँ राजनीतिक निर्णय, आवश्यक परे नयाँ दल गठनसम्मको विकल्प खुला राखिएको स्पष्ट संकेत दिएको छ।
केन्द्रीय नेतृत्व र संस्थापन इतर समूहबीचको दूरी झन् बढिरहेका बेला साउन २९ को राष्ट्रिय भेला कांग्रेसको आगामी राजनीतिक यात्राका लागि निर्णायक बन्ने देखिएको छ। उक्त भेलाबाट पार्टीभित्रको शक्ति सन्तुलन, नयाँ रणनीति र सम्भावित विभाजनबारे स्पष्ट सन्देश आउने राजनीतिक वृत्तमा अपेक्षा गरिएको छ।
प्रकाशित: ६ श्रावण २०८३ १९:१८ बुधबार





