२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता स्थापित गर्न कांग्रेसको आवश्यकता : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता स्थापित गर्न कांग्रेस सरकारमा आउनुपर्छ भन्ने जनमत  बढ्दै गएको बताएका छन्। 

सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले ठूलो विकास र सुशासन दिने दाबी गरेर मात्र जनताले परिवर्तनको अनुभूति गर्न नसक्ने बताए। वर्तमान सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध काम गर्ने दाबी गरे पनि व्यवहारमा त्यसको प्रभाव देखिन नसकेको उनको भनाइ थियो। 

उनले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र बजारमा देखिएको अभावप्रति पनि प्रश्न उठाए। चुलो बाल्न आवश्यक ग्याससमेत सहज रूपमा नपाउने र बजारमा मूल्य निरन्तर बढिरहेको अवस्थामा सरकारले दिने भनिएको सुशासनप्रति जनतामै अन्योल सिर्जना भएको उनले बताए। 

‘कसैले हामी ठूलो काम गर्छौँ, ठूलो विकास गर्छौँ, ठूलो सुशासन गर्छौँ भन्दैमा मात्रै के हुँदैछ भन्ने कुरा महत्वपूर्ण हो। अहिले सुशासन र भ्रष्टाचारविरोधका लागि बनेको सरकारले के काम गरिरहेको छ भन्ने कुरा स्पष्ट भइसकेको छ,’ सिंहले भने। उनले जनताले सुरुमा परिवर्तन आउने अपेक्षा गरे पनि अहिले परिवर्तनको वास्तविक अर्थ र त्यसको परिणामबारे प्रश्न गर्न थालेको बताए।

‘आम जनताले अब चेन्ज आउँछ, चेन्जका लागि भनेर भन्यो। चेन्ज त आखिरमा कहाँबाट हुँदो रहेछ भन्ने कुरा जनताले बुझ्दै गएका छन्,’ सिंहले भने। 

सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति व्यवहारमै स्थापित गर्न कांग्रेस आवश्यक रहेको धारणा जनतामा विस्तारै बलियो हुँदै गएको सिंहको दाबी थियो। 

‘कांग्रेस पार्टी नआइकन यहाँ सुशासन र भ्रष्टाचारमा जिरो टलरेन्स स्थापित गर्न सकिँदैन, कांग्रेस नै आउनुपर्छ भन्ने मत बिस्तारै बढ्दै गइरहेको कुरालाई पनि हामीले ध्यान दिनुपर्छ,’ उनले भने। 

प्रकाशित: २५ भाद्र २०८३ १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App