नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरूले सुशासनको पाठ नपढाउन आग्रह गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सांसद न्यौपानेले रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगेको स्वीकार गरिसकेको दाबी गर्दै रास्वपा सांसदलाई सुशासनको पाठ पढाउने नैतिक धरातल नभएको बताएका हुन्।
‘केही साथीहरू भर्खरै हामीलाई लोकतन्त्र, विधिको शासनको पाठ पढाएर संसद् बहिष्कार गरेर बाहिरिनुभयो,’ सांसद न्यौपानेले भनिन्, ‘उहाँको सभापतिको विषयमा भर्खरै हिजो रुपन्देही अदालतले एउटा निर्णय पनि गरेको छ। उहाँले आफूलाई सहकारी ठगीको रकम उहाँको भागमा जति पर्छ–२ करोड ७४ लाख ८४ हजारको बैङ्क जमानत रकम म त्यो तिर्छु मलाई बाहिरबाट मुद्दा लड्न दिइयोस् भनेर भन्नुभयो।’ रविले अदालतमा सहकारी ठगी गरेको स्वीकारेको पनि उनले दाबी गरिन्। उनले अगाडि भनिन्, ‘अदालतले त्यो कुरालाई अस्वीकार गरिदियो। रविजीले ठगेको स्वीकार गर्नुभयो, भाग शान्ति म तिर्छु भन्नुभयो। तर अदालतले छाड्न मानेन त्यसमा धेरै कुरा थियो होला।’
रास्वपा सभापति रविले दिएको निवेदनमा सहकारी पीडितको रकम फिर्ता गर्नुपर्ने भएकाले आफूले बिगो बराबरको रकम तिर्न तयार रहेको उल्लेख गरेको पनि सांसद न्यौपानेले दाबी गरिन्। ‘त्यही कुरामा मैले के देखेँ भने सहकारी पीडितको पैसा यथाशीघ्र फिर्ता गर्नुपर्ने भएको हुनाले म यो काम गर्दै छु भन्ने पनि देखेँ, हेरे मैले,’ उनले भनिन्।
त्यसपछि उनले ‘बिगो बापतको रकम मुद्दाको छिनोफानो नहुँदै सहकारी पीडितले पाउँछ र?’ भन्दै प्रश्न गरिन्। ‘पाउँदैन होला नि त। कसरी शब्दमा खेलेर जालझेल गरिन्छ, हिजो मात्रै त्यहाँ देखियो,’ सांसद न्यौपानेले भनिन्।
अदालतको धेरै निर्णय गरेको, एउटा मात्रै नभएर पाँच वटा अदालतले निर्णय गरेको उनले बताइन्।
मंगलबारकै बैठकमा यसअघि बोल्दै रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हामी सुशासन चाहन्छौँ, भ्रष्टाचारी मन्त्री नरहुन् भन्ने चाहन्छौँ, तपाईँ के चाहनुहुन्छ?’ भनेर प्रश्न गरेका थिए।
प्रकाशित: २७ श्रावण २०८२ १५:२६ मंगलबार





