मुलुककै पुरानो दल नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको सँघारमा पुगेका बेला पार्टीका दुवै पक्ष नेता तथा कार्यकर्ता आआफ्नो पक्षमा पार्न सक्रिय भएका छन्। गत पुसमा भएको विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि वैधता दिएपछि संस्थापन पक्ष १५औं महाधिवेशनको तयारीमा जुटेको छ।
उक्त पक्षले असोज ४ देखि वडा अधिवेशन सुरु गरेर १६ गतेबाट काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ तर इतर पक्षले मंसिरमा महाधिवेशन गर्ने तयारी थालेको छ। इतर पक्षले सोहीअनुसार विभिन्न समिति गठनलाई तीव्रता दिएको छ।
संस्थान र इतर पक्षले आआफ्नो तयारीलाई तीव्र बनाएका बेला नेता डा. शेखर कोइराला भने कुनै पक्षमा देखिएका छैनन्। निवर्तमान सभापति शेरबहादुर देउवाबिनाको पार्टीको बृहत् एकता सम्भव नहुने भन्दै कोइरालाले दुवै पक्षले गर्ने महाधिवेशनमा सहभागी नहुने अडान लिएका छन्। सोही बेला विगतमा देउवानिकट अधिकांश नेताले संस्थापन पक्षले असोज १६ देखि गर्ने १५औं महाधिवेशनमा सहभागी हुने निर्णय गरेका छन्।
देउवाका विश्वासपात्रमध्येका एक पूर्णबहादुर खड्कासहितका नेताहरू संस्थापन पक्षले गर्ने महाधिवेशनमा सहभागी हुने तयारीमा जुटेका हुन्। इतर समूहले महाधिवेशन तयारी समितिको संयोजकमा डा. शशांक कोइरालालाई अघि सारेपछि नेता खड्का असन्तुष्ट बनेको निकट नेताहरूको दाबी छ। केही दिनअघि खड्कालाई भेट्न सभापति थापा उनकै निवास पुगेका थिए। त्यससँगै संस्थापन पक्षले गर्ने महाधिवेशनमा सहभागी हुन खड्काले निकटहरूलाई भनेको एक सदस्यले जानकारी दिए।
खड्कानिकट पूर्वसंस्थापन पक्षका दुई दर्जनभन्दा बढी नेता सोमबार उनलाई भेट्न पुगेका थिए। खड्का आफैंले भने महाधिवेशनमा सहभागिता जनाउने कुरा नगरेको सुनाउँदै निकट एक सदस्यले भने, ‘तर हामी भने सहभागी हुने भएका छौं।’
विशेष महाधिवेशन र त्यसमार्फत चयन भएको नेतृत्वलाई वैधता दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन रिट निवेदन कायमै छ। त्यसको टुंगो लाग्न बाँकी रहेका बेला तत्कालीन कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका खड्कालाई महाधिवेशनमा सहभागी हुँदा नैतिक प्रश्न उठ्ने जिकिर गरिएको छ। ‘उहाँ चुनावमा पनि उम्मेदवार हुनुभएन, महाधिवेशनमा पनि सायद सहभागी बन्नुहुन्न तर हामीलाई र संस्थापन पक्षलाई उहाँबाट महाधिवेशनको शुभेच्छा छ,’ खड्कानिकट सदस्यले भने।
पार्टी औपचारिक रूपमा विभाजनको सँघारमा पुगेका बेला देउवाले मंगलबार अपिल जारी गर्दै असोज ३ गतेबाट हुने महाधिवेशनमा सहभागी नहुन भनेका छन्।
पार्टीका अनुभवी नेतृत्वबाट निर्वाचन जित्न सकिँदैन भन्ने दुष्प्रचार गर्दै विशेष महाधिवेशन गर्नेहरूले निर्वाचन परिणामबाट समेत पाठ नसिकेको आरोप लगाइएको छ। उनीहरूलाई कांग्रेस निर्माण गर्ने होइन, कमजोर बनाउने प्रवृत्तिको परिचायकको संज्ञा दिँदै देउवाले कांग्रेस स्थापनाकालदेखि नै राष्ट्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने अग्रजहरूको त्याग र बलिदानबाट निर्मित पार्टी भएको जनाएका छन्।
पार्टीभित्र देखिएको विवाद र असमझदारीप्रति आफू चिन्तित रहेको जनाउँदै उनले भनेका छन्, ‘पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत अवैधानिक रूपमा विशेष महाधिवेशन गर्ने समूहले कथित १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी एक पक्षीय ढंगले अघि बढ्न खोजेको देखिन्छ।’
अवैधानिक विशेष महाधिवेशन किन गरियो भन्ने प्रश्नको जवाफ आजसम्म आम नेता–कार्यकर्ता र नेपाली जनताले पाउन नसकेको देउवाको दाबी छ। उक्त विषय अदालतमा विचाराधीन रहेकै अवस्थामा महाधिवेशनको प्रक्रिया अघि बढाउनु विधि, विधान र सर्वमान्य कानुनी सिद्धान्तविपरीतको कार्य भएको उनको दाबी छ। ‘एकातर्फ अदालतमा वैधताको प्रश्न विचाराधीन रहने, सोही मुद्दामा तारिख धाउने र अर्कातर्फ त्यसको अन्तिम निर्णय नआउँदै अधिवेशन प्रक्रिया अघि बढाउने कार्य राजनीतिक, नैतिक तथा कानुनी तथा संवैधानिक दृष्टिले उपयुक्त देखिँदैन,’ देउवाको अपिलमा भनिएको छ।
आफूलाई कुनै पद वा जिम्मेवारीप्रति लोभ नभएको दोहोर्याउँदै देउवाले भनेका छन्, ‘तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन।’
देउवाको अपिल आएको केही समयपछि सभापति गगनकुमार थापाले पनि पार्टीका नेता तथा कार्यकर्तालाई १५औं महाधिवेशनमा उत्साहपूर्ण रूपमा सहभागी हुन आह्वान गरेका छन्।
असोज ३ र ४ गते वडा तहबाट हुने अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन आह्वान गर्दै थापाले लोकतन्त्रमा फरक मत हुने गर्छन्, पार्टीभित्र आन्तरिक मतभेद र असमझदारी हुन सक्छन् तर ती भिन्न मतको सम्मान गर्न सक्नु, संवाद, विधि र पद्धतिबाट त्यसको समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष भएको जनाएका छन्।
कांग्रेसमा फरक मतलाई स्वीकार गरेर विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहँदै आएको पनि उनले उल्लेख गरेका छन्। ‘पार्टीको आन्तरिक जीवनमा सबै सदस्य सहभागी भएर हुने महाधिवेशन नै यस्तो विधि र उत्तम विकल्प हो,’ उनले भनेका छन्, ‘जसले फरक विचारलाई सम्मान, सम्बोधन र उचित विचारलाई अनुमोदन गर्छ।’
महाधिवेशनमार्फत हामी सबैको सामूहिक प्रयासबाट पार्टीलाई ऐक्यबद्ध र गतिशील बनाउँदै राष्ट्रका चुनौतीको सामना गर्न सक्ने बलियो कांग्रेस बनाउनुपर्नेमा उनले जोड दिएका छन्। ‘१५औं महाधिवेशनमा सबै तहका कार्यसमितिले पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी सोहीअनुसार सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैलाई सहभागी गराई महाधिवेशन सम्पन्न गर्न र उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण तहगत कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक र शुभेच्छुकहरूमा हार्दिक अपिल गर्छु,’ थापाले भनेका छन्।
प्रकाशित: ३१ भाद्र २०८३ ०७:२८ बुधबार





