२९ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

आफ्ना कमजोरीप्रति क्षमा माग्दै कांग्रेस बदलिएको छ: युवा नेता पौडेल

तस्बिर: बिमला रोक्का/नागरिक

नेपाली कांग्रेसका युवा नेता प्रताप पौडेलले कांग्रेसले विगतका आफ्ना कमीकमजोरी स्वीकार गर्दै आफूलाई रूपान्तरण गरेको बताएका छन्।

बिहीबार नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘क्रियटर्स च्याम्पियन ३.०’ कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेसले अब नैतिक धरातलमा टेकेर नयाँ संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

कार्यक्रममा बोल्दै पौडेलले भने, ‘हामी विगतमा भएका कमीकमजोरीप्रति समीक्षा गर्छौँ, आत्मालोचना गर्छौँ र क्षमा माग्छौँ। बदलिएर यो विषयलाई संस्थागत बनाउने कुरामा हामी दृढ संकल्पित भएर योजनासहित लाग्छौँ।’

उनले कांग्रेसले यही नैतिक धरातलमा टेकेर आगामी निर्वाचनमा अघि बढ्ने स्पष्ट पारे। ‘कांग्रेस नयाँ यसकारण भएको छ, बदलिएको यसैले छ,’ उनले भने, ‘यिनै विषयको आलोकमा कांग्रेसले आफ्ना संकल्पहरू पस्कनेछ।’

अघिल्लो पटकभन्दा अहिले के फरक छ भन्ने प्रश्नको जवाफ दिँदै उनले अहिलेको मुख्य आवश्यकता सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको औँल्याए।

‘यसको भाव र मर्म भनेको खासगरी युवाहरूले राखेको चासो हो,’ पौडेलले भने, ‘नेपालको सुशासन र भ्रष्टाचार नियन्त्रणको विषय नै यसको जरा र गर्भमा आजका दिनमा सबैभन्दा बढी चाहिएको कुरा हो।’

उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको जगमा उभिएर कांग्रेसले जनतामाझ आफ्ना योजना लैजाने बताए।

प्रकाशित: २९ माघ २०८२ १९:४६ बिहीबार