२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस गण्डकी सभापति शर्माको आग्रहः संवैधानिक राजसंस्थाको विरासत फर्काऔं

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहको बोलीमा लोली मिलाएका छन् । पूर्वराजा ज्ञानेन्द्रले निर्वाचनअघि नै राष्ट्रिय सहमती खोज्न आह्वान गरेको भोलिपल्टै प्रजातन्त्र दिवसको अवसरमा पारेर कांग्रेस गण्डकी प्रदेश सभापति शर्माले संवैधानिक राजसंस्थामा सहमती जुटाउनुपर्ने बताएका हुन् । संवैधानिक राजतन्त्रको सट्टा गणतन्त्र भनेकै कारणले देश असफल अवस्थामा पुगेको दाबी गर्दै उनले भने,‘यहि कारण देश अन्तर्राष्ट्रिय जगतको क्रिडास्थलमा परिणत भइरहेको छ । दिनप्रतिदिन अस्थिरताको अखडाको केन्द्र बनिरहेको छ ।’  

सभापति शर्माले संवैधानिक राजसंस्थाको उठाएर देशमा अस्थिरता उत्पन्न गर्ने प्रयास भइरहेकाले त्यसलाई सम्बोधन गरेर जानुको विकल्प नभएको बताए । यसको समाधान नगरी देश संकटबाट ननिस्कने उनले ठोकुवासमेत गरे । धर्मको नाममा परम्परा खलबलिएको, गणतन्त्र र लोकतन्त्रका नाममा प्रजातन्त्र खलबलिएको र धर्मनिरपेक्षता ल्याउँदा सनातन धार्मिक स्वतन्त्रतासहित धर्म, संस्कृति र परम्पराको जग नै खलबलिएको उनको जिकीर छ । राजाले संवैधानिक परिधि तोडेकै कारण राजतन्त्र फालेर गणतन्त्र आए पनि अहिले आवश्यक्ता महसुस भएकाले फर्काउनुपर्ने उनको भनाई छ ।  

ज्ञानेन्द्र शाह राजा पनि आफू, प्रधानमन्त्री पनि आफू बन्न खोजेकाले जनताले राजतन्त्र फाले, उनले भने,‘तर सिद्दान्ततः विरासत हामीले पोलेको हुनाले अहिलेको अस्थिर अवस्था आएको हो, अब यसको समाधानको उपाय भनेको विरासतमा फर्किने हो । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, धार्मिक स्वतन्त्रता र संवैधानिक राजतन्त्रका सर्वसहमतीको आधारमा विरासत फर्काएपछि मात्रै अस्थिरता हटेर स्थिरता आउँछ ।’ त्यसका लागि गोलमेच सम्मेलन वा सर्वदलीय सहमती जे को आवश्यक्ता हो त्यसैका आधारमा सहमती खोज्न सकिने उनको भनाई छ । तर राजाले पनि संवैधानिक व्यवस्था तोड्न नसक्ने व्यवस्था गरेर संवैधानिक राजसंस्था राख्ने विषयमा सहमती खोज्नुपर्नेमा उनले जोड दिए ।  

सभापति शर्माले संवैधानिक राजसंस्थासहितका अजेण्डाबारे आफ्नो धारणा पार्टीको आधिकारिक धारणा रहेको दाबी गरे । यसअघिका सार्वजनिक मञ्चमा समेत राजसंस्थाबारे खुलेर वकालत गर्दै आएका उनले भने, ‘अहिले सभापति भएकाले मैले बोलेको हुँ तर यो मेरो व्यक्तिगत धारणा नभई समग्र पार्टीको धारणा हो । यस विषयमा हामीले बैठकबाटै निर्णय गरिसकेका छौं ।’ त्यतिमात्र होईन पार्टीको विशेष महाधिवेशनले नै यो एजेण्डा पारित गरेको उनको दाबी छ । महाधिवेशनको बन्द शत्रमा यसबारे प्रस्ताव लैजाँदा त्यसलाई निराकरण गरेर लैजाने भनेर पारित भएकाले त्यसको मतलव संवैधानिक राजसंस्थालगायतका विषयमा पार्टी उभिएको उनको जिकीर छ । उनले अबदेखि लोकतन्त्र र गणतन्त्र नभन्न अपिलसमेत गरेका छन् । गणतन्त्र र लोकतन्त्रले देशको हविगत भएको बताउँदै उनले भने,‘अब हामी सबैले प्रजातन्त्र भनौं, प्रजातन्त्र भन्न लगाऔं ।’  

सभापति शर्माले यी सबै विषयमा सहमती जुटाउन कांग्रेसको नेतृत्व आवश्यक रहेको पनि जिकीर गरे । कांग्रेसबाहेकको नेतृत्वले निकास दिने सामथ्र्य नराख्ने बताउँदै उनले भने, ‘कांग्रेस एक्लैले पनि केहि गर्न सक्दैन । तर अरुको नेतृत्वमा पनि निकास दिने सामथ्र्य छैन । त्यसैले सबैलाई साथमा लिएर कांग्रेसको नेतृत्वमा जानुको विकल्प पनि छैन ।’ त्यसैले आगामी चुनावमा कांग्रेसलाई जिताउनुपर्ने उनले बताए । कांग्रेसले जे गर्छ त्यो जनताको तागतमा गर्ने र जनताले जे प्राप्त गर्छ त्यो कांग्रेसको अगुवाईमा प्राप्त हुने उनको दाबी छ ।  

उनले चीन र भारतको निकटा बड्दा देशमा अस्थिरता उत्पन्न भएको पनि उनले आरोप लगाए । चीन र भारतको दुरी बढ्दा स्थिरता थियो,उनले भने,तर चीन र भारतबीचको निकटता बढ्दा अस्थिरता बढेको छ । त्यस्तै, भारत र अमेरिकाबीचको दुरी बढ्दा झन् देशमा अस्थिरता बढ्यो ।’ उनले स्थिरताका लागि अमेरिका र भारतबीच निकटता बढ्नु र चीन र भारतबीच दुरी बढ्नु नेपालका लागि राम्रो हुने बताए ।

प्रकाशित: ७ फाल्गुन २०८२ १८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App