नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशन तिथिमिति एक दिन पनि तलमाथि नहुने बताएका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार आयोजना गरेको कार्यक्रममा थापाले भने, ‘एक दिन पनि, एक घण्टा पनि यसको तिथिमिति तलमाथि सर्दैन। ४ गते (असोज) देखि हाम्रो अधिवेशन प्रक्रिया प्रारम्भ हुन्छ र १६ गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौं।’ संस्थापन इतरका नेताहरू महाधिवेशन मिति सर्ने र एकताका लागि पहल हुने आशामा रहेका बेला थापाले महाधिवेशन नसर्ने स्पष्ट गरेका हुन्।
पछिल्ला दिनमा पार्टीका विभिन्न नेताहरूसँग छलफलमा जुटेका थापा यही अडानमा कायमै रहे भने कांग्रेस असोज पहिलो साता औपचारिक रूपमा विभाजित हुने निश्चित छ। किनकि पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवासहितका नेता मंसिरमा समानान्तर महाधिवेशनको तयारी छन्।
पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा समिति गठन गरेर उनीहरूले महाधिवेशन तयारी सुरु गरेका छन्। शेखर कोइरालासहितका नेताहरू भने पार्टीभित्र बृहत एकताको पक्षमा छन्।
शेखरले देउवा र थापालाई पछिल्लो साता भेटेका छन्। उनले दुवै नेतालाई सहमतिका लागि लचिलो हुन आग्रह गरेको निकट नेताहरूको दाबी छ। शेखरले निकट नेताहरूलाई पार्टी महामन्त्री गुरुराज घिमिरेसहितका नेतासँग पनि छलफलका लागि खटाएका थिए। सहमति प्रयासमा सक्रिय नेताहरू भने पार्टी विभाजन उन्मुख भएको निष्कर्षमा पुगेका छन्। शेखरसहितका नेताहरू असोज ३ गतेसम्म एकता प्रयास जारी राख्ने तयारीमा छन्।
सभापति थापासँग केही दिनअघि म्यारियट होटलमा भेटेका शेखरले आफू देउवासहित बृहत् एकताको पक्षमा रहेको बताएका थिए। आफूसहितका केही नेता मिल्दैमा मात्र एकताको सन्देश नजाने जनाउँदै शेखरले महाधिवेशन मिति सारेर वातावरण बनाउन थापालाई आग्रह गरेको निकटहरूको दाबी छ तर थापाले पार्टीको समग्र एकताभन्दा खासखास नेताहरूलाई मात्र समेटेर अघि बढ्ने पुरानो अडान राखेको जनाइएको छ। थापाले शेखर, शशांक कोइराला, पूर्णबहादुर खड्कासहितका नेतालाई समेटेर महाधिवेशनमा जान चाहेको बताएका थिए। सोहीअनुसार सकारात्मक बन्न उनले शेखरलाई आग्रह गरेका थिए।
तर शेखरले देउवाबिना एकताको सन्देश प्रवाह हुनै नसक्ने दोहो¥याएका थिए। पार्टी एकताका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको जनाउँदै आएका शेखरले महाधिवेशन गर्न अलग्गै संयन्त्र बनाउनुपर्ने प्रस्ताव दोहो¥याएका थिए। संयन्त्रमार्फत महाधिवेशन गराउनुपर्ने र केही समय मिति सानुपर्ने प्रस्ताव शेखरले थापासँग राखेका थिए।
पार्टी एकताका लागि नेता अर्जुननरसिंह केसीले कार्यसम्पादन समिति बैठकमा १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति समायोजन गरी एउटा मात्र बैठक राख्न प्रस्ताव गरेका थिए। उनले दुवै कार्यसम्पादन समिति समायोजन गरी त्यसमार्फत महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए। यो प्रस्तावमा पनि शेखर लचिलो रहेको निकटहरूको दाबी छ।
सभापति थापासँग भेटेपछि शेखरले देउवासँग पनि छलफल गरेका छन्। महाधिवेशनका लागि दुवै पक्ष सहभागी संयन्त्र बनाएर जाने कुरामा देउवा सकारात्मक रहेको निकट स्रोतको दाबी छ।
सर्वोच्च अदालतले पार्टी आधिकारिकता विवादमा पुुनः सुनुवाइका लागि निस्सा दिएपछि आदेश आफ्नो पक्षमा आउनेमा देउवा आश्वस्त छन्। शेखरले एकताका लागि थापालाई भेट्न देउवासँग आग्रह गरेका थिए। थापालाई नभेट्ने अडानमा रहेका देउवा शेखरलाई साथमै राखेर भेट्न तयार भएको नेताहरूको दाबी छ।
सोहीअनुसार देउवाका स्वकीय सचिव भानु देउवाले नेता दीपक खड्कालाई साथमै राखेर थापालाई फोन गरेको उनीहरूको दाबी छ। तर सभापति थापाले काठमाडौंमै भएर पनि बाहिर रहेको जवाफ दिएको उनीहरूको आरोप छ। थापाले सार्वजनिक रुपमा देउवाले आफूलाई भेट नदिएको बताए पनि उनी स्वयं भेट गर्ने पक्षमा नरहेको देउवा निकटहरूको दाबी छ। शेखरको संयोजकत्वमा महाधिवेशन गराउने संयन्त्र गठन गर्न देउवा लचिलो भए पनि थापा त्यसका लागि तयार छैनन्।
सभापति थापाले नेता पूर्णबहादुर खड्कासँग पनि छलफल गरेका छन्। शेखरसँग भेट्नुअघि थापाले पूर्णबहादुरसँग भेटेका थिए। थापा र खड्का भेटको भोलिपल्ट शेखर र खड्काबिच भेट भएको थियो। पार्टीमा बृहत् एकताका लागि पहल लिने समझदारी दुवै नेताबिच भएको जनाइएको छ। त्यसपछि खड्का निकट नेताहरूले एकताका लागि शेखरसहितका नेतालाई दबाब दिँदै आएका छन्। यसैबिच २५ जना नेताले शेखर र खड्का एकै ठाउँमा उभिनुपर्ने बताएका छन्। उनीहरूले शुक्रबार विज्ञप्ति निकालेर एकताको लागि जोड दिएका छन्।
साउन अन्तिम साता भएको कांग्रेस संस्थापन इतर पक्षको भेलाको संयोजक शशांकलाई बनाएसँगै नेता खड्का असन्तुष्ट बन्दै आएका छन्। भेला उद्घाटनसत्रमा खड्का र शेखर दुवै सहभागि भएका थिए। बन्दसत्रमा भने उनीहरू सहभागी भएनन्। दुवै पक्षले अलगअलग महाधिवेशनको तयारी गरेपछि शेखरसहितका नेताहरू सहभागी नहुने रणनीतिमा छन्। शेखरलाई दुवै पक्षले महाधिवेशन गरे सहभागी नहुन र मध्यमार्ग नछाड्न निकटहरूले दबाब दिँदै आएका छन्। अर्का नेता पूर्णबहादुरलाई पनि निकटहरूले रुख र चारतारे झन्डा जहाँ हुन्छ आधिकारिक कांग्रेस त्यही हुने भन्दै असोज ४ देखि हुने अधिवेशन प्रक्रियामा सहभागी हुन सुझाउँदै आएका छन्।
विशेष महाधिवेशनसँगै आन्तरिक किचलोमा फसेको कांग्रेस १५औं महाधिवेशनसम्म पुग्दा चिराचिरा पर्ने विश्लेषण नेताहरूले नै गर्न थालेका छन्। पार्टी आधिकारिकता विवाद सर्वोच्च अदालतमा कायमै रहेका बेला संस्थापन पक्षले असोज तेस्रो साता महाधिवेशन गर्ने कार्यतालिका ल्याइसकेको छ भने इतर पक्ष मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ।
प्रकाशित: २७ भाद्र २०८३ १३:३४ शनिबार





