प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को स्वास्थ्य परीक्षण गर्न माग गरेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गरिरहँदा बीचमै उठेर गएकोमा कटाक्ष गर्दै तत्काल उनको स्वास्थ्य परीक्षण गर्न माग गरेका हुन् ।
'आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँड्नु स्वभाविक होइन। यदि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेको कारण उहाँ हिँड्नुभएको हो भने, सरकारले अविलम्ब स्वास्थ्य परीक्षण गरेर उहाँको स्वास्थयबारे त्यसको जानकारी संसदलाई गराउनुपर्छ।', उनले थपे, 'सत्ताको भारी अपेक्षा गरेभन्दा धेरै ठूलो भएर होला, हाम्रा युवा प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको । खैर, जे होस्, प्रधानमन्त्रीले अहंकार र मर्यादाहिन व्यवहार प्रदर्शन गर्नु दुर्भाग्य हो । हिजोको उहाँको व्यवहरले जनताको मन कुँडिएको छ । देशको शिर झुकेको छ । यो सदनको गरिमा र ईज्जतमा दाग अनुभूति हामीलाई भएको छ ।'
सांसद् आङ्देम्बेले प्रधानमन्त्रीको यो व्यवहारलाई 'अमर्यादित र अहंकारपूर्ण' भन्दै यसले सदनको गरिमा र इज्जतमा दाग लागेको टिप्पणी गरे। कुनै पनि देशको प्रधानमन्त्रीले यस्तो गैर-जिम्मेवार व्यवहार नदेखाउने भन्दै उनले यस विषयमा सरकारको आधिकारिक धारणा माग गरे ।
प्रकाशित: २९ वैशाख २०८३ १४:४९ मंगलबार





