१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

निवर्तमान कार्यवाहक सभापति खड्कालाई सचेत गराउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको अनुशासन समितिको बैठकले खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै नक्कली लेटरप्याड बनाएर अनधिकृत वक्तव्य जारी गरेको भन्दै सचेत गराउने निर्णय गरेको हो।

‘विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइन्छ,’ समिति बैठकपछि समिति सचिव दिनेश थापा मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

खड्काले कार्यवाहक सभापति पद राखेर नेता रमेश लेखकलाई पक्राउ गरेको विरोधमा गत शनिबार पार्टी लेटरप्याडमा विज्ञप्ति जारी गरेका थिए। अब फेरि यस्ता विज्ञप्ति निकालेमा कांग्रेस विधान र प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय पनि समिति बैठकले गरेको छ। 

प्रकाशित: १८ चैत्र २०८२ १६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App