नेपाली कांग्रेस ताप्लेजुङको वडा र पालिका अधिवेशन सम्पन्न भएको छ। वडामा सर्वसम्मत नेतृत्व चयन गरेको कांग्रेसले जिल्लाका नौमध्ये सात स्थानीय तहमा सर्वसम्मत र दुई स्थानीय तहमा निर्वाचनमार्फत नेतृत्व चयन गरेको हो।
नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङले वडा र पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको जानकारी दिए।
ताप्लेजुङको एकमात्र नगरपालिका फुङलिङ नगर समितिको सभापतिमा विनोद गुरुङ चयन भएका छन्। त्यस्तै आठराई त्रिवेणीमा सोम बिमली, फक्ताङलुङमा दिलकुमार लिम्बू, सिरिजङ्घामा पूर्णसिंह मावो, सिदिङ्वामा डेनी तामाङ र मैवाखोलामा टीकाराज कार्की सभापति रहेको समिति सर्वसम्मत चयन भएको छ।
पाथीभरा याङ्वरक गाउँपालिकामा अर्जुन खिम्दिङ र मेरिङदेन गाउँपालिकामा विशाल लङ्वो लिम्बू निर्वाचनमार्फत सभापतिमा निर्वाचित भएका छन्। पाथीभरा याङ्वरकमा खिम्दिङ र राजकुमार कार्की तथा मेरिङदेनमा लङ्वो र मेघराज चोङ्वाङबीच प्रतिस्पर्धा भएको थियो।
नेपाली कांग्रेस ताप्लेजुङको प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १२ गते हुने भएको छ। कांग्रेस ताप्लेजुङको निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत शिवराज पोखरेलले अधिवेशन असोज १२ गतेका लागि तय भएको जानकारी दिए।
यसअघि वडा अधिवेशनसँगै भएको क्षेत्रीय प्रतिनिधि छनोटसमेत सर्वसम्मत भएको थियो।
प्रकाशित: ९ आश्विन २०८३ १५:४३ शुक्रबार





