२०८३ साल असोज २ गतेदेखि प्रारम्भ भई असोज १७ गते समापन हुने महालक्ष्मी व्रतको आज पवित्र सोह्र दिनमध्ये आठौँ दिन। समयको तीव्र गतिसँगै हाम्रा धेरै मौलिक संस्कारहरू बिस्तारै जीवनको केन्द्रबाट ओझेल पर्दै गइरहेका छन्। कहिलेकाहीँ क्यालेन्डरका पानाले चाडपर्वको मिति त सम्झाइदिन्छन्, तर ती पर्वले बोकेको दर्शन, अनुशासन र जीवनबोध भने हाम्रो चेतनाबाट हराउँदै गइरहेका हुन्छन्।
महालक्ष्मी व्रत पनि त्यही एउटा पुरानो सांस्कृतिक सम्पदा हो। यसलाई केवल व्रत, पूजा र समृद्धिको कामनामा सीमित गरेर बुझ्यौँ भने यसको गहिराइसँग अन्याय हुन्छ। यी सोह्र दिन घरको पूजाकोठामा लक्ष्मीमाताको स्थापना गरिन्छ। सोह्र थरी फूल, धूप, दीप र नैवेद्य अर्पण गरिन्छ। अखण्ड दीप प्रज्वलित गरिन्छ। एकछाक चोखो भोजन गरिन्छ।
श्रद्धापूर्वक आराधना गरिन्छ। सौभाग्यका प्रतीकहरू धारण गरिन्छ। परिवारको सुख, शान्ति, स्वास्थ्य, सौभाग्य र समृद्धिको कामना गरिन्छ। आफ्ना अनियन्त्रित इच्छा, लोभ, अहंकार र असन्तोषलाई त्यागेर माताको महिमागान गर्न सक्नु नै व्रतको मूल मन्त्र हो। शरीरलाई भोकै राख्न सहज हुन सक्छ, तर मनलाई लोभबाट रोक्न सक्नु कठिन हुन्छ। जिब्रोलाई कटु वचनबाट रोक्नु कठिन हुन्छ।आँखालाई ईर्ष्याबाट जोगाउनु कठिन हुन्छ। आफूले अधिकार पाइरहँदा अरूको सम्मान गर्न सक्नु कठिन हुन्छ। त्यसैले मलाई महालक्ष्मी व्रतका यी सोह्र दिन केवल शरीरको उपवास होइन, चेतनाको अभ्यास जस्ता लाग्छन्।
हामी लक्ष्मीको नाम सुन्नासाथ धन, सुन, चाँदी, गहना, ठूलो घर र सम्पन्नताको कल्पना गर्छौँ। तर समृद्धि के साँच्चै यत्ति मै समाप्त हुन्छ? घर ठूलो छ, तर मन सानो छ भने? बैंक खातामा टन्न पैसा भरिएको छ, तर निद्रा हराएको छ भने? भकारी अन्नले भरिएको छ, तर परिवार भित्र आत्मीयता छैन भने? महल उभिएको छ, तर सम्बन्धको जग कमजोर छ भने? कमाइ प्रशस्त छ, तर त्यसको बाटो इमान्दार छैन भने? त्यसलाई सम्पन्नता भन्न त सकिएला, तर समृद्धि भन्न सकिदैन्।
सायद महालक्ष्मीको वास्तविक दर्शन यही प्रश्नबाट सुरु हुन्छ। लक्ष्मी केवल धनकी देवी होइनन्। धनलाई सही दिशा दिने विवेककी देवी पनि हुन्। सम्पत्ति मात्र होइनन्, त्यसको सदुपयोग गर्ने संस्कार हुन्। ऐश्वर्य मात्र होइनन्, अभावमा पनि आशा जोगाइराख्ने सामर्थ्य हुन्। सौभाग्य मात्र होइनन्, प्राप्त अवसरलाई सत्कर्ममा परिणत गर्ने चेतना हुन्।
हाम्रो संस्कृतिले लक्ष्मीमातालाई कमलको फूलमा विराजमान गराएको छ। कमल हिलो मै फुल्छ, तर हिलोमा लिप्त हुँदैन। जीवन पनि सधैँ निर्मल हुँदैन। अभाव आउँछ, संघर्ष आउँछ, असफलता आउँछ, सम्बन्धमा दरार आउँछ, परिस्थितिले हामीलाई कहिलेकाहीँ हिलो मै उभ्याउँछ। तर त्यस हिलोले हाम्रो विवेक, आत्मसम्मान र मानवतालाई छोप्नु हुँदैन।
यही नै कमलको दर्शन हो। त्यसैले महालक्ष्मीको आराधना बाहिरी वैभवको माग मात्र होइन, आफ्नो अन्तर्मनमा कमल फुलाउने साधना पनि हो। महालक्ष्मी व्रतसँग नारीहरूको धार्मिक आस्था र सांस्कृतिक सहभागिता विशेष रूपमा जोडिएको छ। स्नान, शुद्ध वस्त्र, पूजा, उपवास, सौभाग्यका सामग्री, सिन्दूर, पोते, चुरा, टीका र रातो वस्त्र। यी सबै केवल बाहिरी श्रृंगारका वस्तु होइनन्। यिनको पछाडि पुस्तौँ देखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक स्मृति, परिवारको मंगलकामना र जीवन प्रतिको सकारात्मक दृष्टिकोण पनि जोडिएको छ।
हाम्रो विचारमा विनम्रता, बोलीमा मिठास, व्यवहारमा शालीनता र कर्ममा इमान्दारी नै सबै भन्दा मूल्यवान् आभूषण हुन्। महालक्ष्मी व्रतको सौन्दर्य त्यति बेला पूर्ण हुन्छ, जब पूजा जीवनसँग जोडिन्छ। दीप बाल्छौँ भने, अरूको जीवनमा अँध्यारो थप्ने काम नगरौँ। अन्न चढाउँछौँ भने, त्यसको एउटा दाना पनि खेर नफालौँ।
धनको कामना गर्छौँ भने, कमाइको बाटो स्वच्छ राखौँ। परिवारको सुख माग्छौँ भने, घरका प्रत्येक सदस्यको सम्मान गरौँ।णदेवीलाई फूल चढाउँछौँ भने, मानिसहरूको जीवनमा काँडा नबनौँ। लक्ष्मीको आराधना गर्छौँ भने, श्रमको अपमान नगरौँ। किनकि अरूको आँसुमा उभिएको वैभवले घरको आकार त बढाउन सक्ला, तर जीवनको गरिमा बढाउन सक्दैन।
हामी लक्ष्मीलाई बजारमा खोज्छौँ, बैंक खातामा खोज्छौँ, गहनाको चमकमा खोज्छौँ। तर बिहानै उठेर परिवारको चुलो बाल्ने आमाको हातमा पनि लक्ष्मीको कथा छ। खेतमा पसिना बगाउने किसानको निधारमा पनि समृद्धिको अर्थ छ। छोराछोरीको भविष्यका लागि आफ्ना रहरहरू थाती राख्ने अभिभावकको त्यागमा पनि त्यसको उज्यालो छ। कसैले ज्ञान बाँडेर जीवन उज्यालो बनाइरहेका छन्।
कसैले बिरामीको पीडामा मलम लगाएर पुण्य कमाइरहेका छन्। सम्पत्ति जम्मा गर्न त सकिएला, सन्तोष जम्मा गर्न सकिँदैन। गहना किन्न सकिएला, सम्बन्धको चमक किन्न सकिँदैन। मनको शान्ति केवल सही कर्म, आत्मीय सम्बन्ध र सन्तुलित चेतनाबाट मात्र जन्मिन्छ। महालक्ष्मी व्रतको आठौँ दिनमा आइपुग्दा सायद हामीले आधा बाटो पार गरिसकेका छौँ। अब बाँकी दिनहरूमा केवल व्रतको निरन्तरता होइन, व्रतले हामी भित्र के परिवर्तन ल्यायो भन्ने प्रश्न गर्नुपर्ने हुन्छ।
सोह्र दिन एकछाक चोखो भोजन गरौँ, तर विचारलाई पनि निर्मल राखौँ। श्रृंगार गरौँ, तर बोलीलाई पनि सुन्दर बनाऔँ। दीप बालौँ, तर कसैको आशा निभ्न नदिऔँ। समृद्धिको कामना गरौँ, तर अरूको दुःख माथि आफ्नो वैभवको महल नबनाऔँ।
किनकि पूजामा चढाइएका फूलहरू केही समय पछि ओइलाउँछन्, दियोको ज्योति पनि एक दिन निभ्छ। तर मानिसहरूलाई दिएको सम्मान, सहयोग र आत्मीयता उसको स्मृतिमा जीवन्त फुलिरहन्छ। महालक्ष्मी मातालाई प्रसन्न पार्ने उपायका अनेक धार्मिक मान्यता होलान्। तर जीवनले सिकाएको एउटा सरल सत्य पनि छ। जहाँ अन्नको सम्मान हुन्छ, जहाँ श्रमको मूल्य बुझिन्छ, जहाँ नारीको गरिमा सुरक्षित हुन्छ, जहाँ सम्बन्धमा विश्वास हुन्छ, जहाँ ज्ञानसँग विनम्रता जोडिन्छ, जहाँ धनसँग दान र शक्तिसँग जिम्मेवारी जोडिन्छ, त्यहाँ समृद्धि केवल घरमा होइन, संस्कारमा पनि बस्छ। आज महालक्ष्मी व्रतको आठौँ दिन, एउटा दीप पूजाकोठामा बालौँ र अर्को दीप आफ्नै अन्तर्मनमा। त्यो प्रकाशले लोभ अलिकति घटाओस्।
अहंकार अलिकति पगालोस्। ईर्ष्या अलिकति शान्त पारोस्।
अभावमा आशा जगाओस्। सम्बन्धमा आत्मीयता थपोस्। श्रम प्रति सम्मान जगाओस्। र धनसँगै विवेक कमाउने प्रेरणा देओस्।
महालक्ष्मीलाई घरमा बोलाउनु भनेको केवल पूजा गर्नु मात्र होइन, आफ्ना कर्म र संस्कारले उहाँका लागि स्थान तयार गर्नु पनि हो। जहाँ अन्नको सम्मान हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ।
जहाँ श्रमको सम्मान हुन्छ, त्यहाँ लक्ष्मीको अर्थ हुन्छ। जहाँ नारीको गरिमा सुरक्षित हुन्छ, त्यहाँ लक्ष्मीको सौन्दर्य हुन्छ।
जहाँ ज्ञानसँग विनम्रता जोडिन्छ, त्यहाँ लक्ष्मीको प्रकाश फैलिएको हुन्छ। जहाँ समृद्धिसँग संवेदना जोडिन्छ, त्यहाँ लक्ष्मी मूर्तिमा मात्र होइन, जीवन पद्धतिको चेतनामा बास गर्छिन्।
महालक्ष्मी व्रतका यी बाँकी दिनहरू केवल पूजा सम्पन्न गर्ने दिन बन्नु हुदैन। आफूलाई अलिकति परिष्कृत गर्ने दिन बन्नुपर्छ।
देवी महालक्ष्मीको कृपाले हाम्रो घरको ढोका मात्र होइन, हाम्रो चेतनाको ढोका पनि खुल्नुपर्छ। हामीले खोजेको समृद्धि यस्तो होस्, जसलाई बैंक खातामा मात्र गन्न नपरोस्, गहनाको तौलमा मात्र तौलिन नपरोस्, बरु शान्त मनमा महसुस गर्न सकियोस्, सम्मानित श्रममा देख्न सकियोस्, आत्मीयता सम्बन्धमा भेट्न सकियोस्, स्वस्थ परिवारमा अनुभूति गर्न सकियोस् र इमान्दार कर्ममा गर्व गर्न सकियोस्। यही हो महालक्ष्मीको बाहिरी पूजा हुँदै भित्री समृद्धि तर्फको यात्रा। सबैको घरमा अन्न, मनमा शान्ति, कर्ममा इमान्दारी र जीवनमा समृद्धि रहोस्। श्री महालक्ष्मी माताको जय।
प्रकाशित: ९ आश्विन २०८३ १५:३५ शुक्रबार





