१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस प्रमुख सचेतक परियार महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित, भन्छन्: निष्ठाको राजनीति निरन्तर रहन्छ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलित समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पराजित भएपछि राष्ट्रिय सभा सदस्य तथा कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियारले आफूलाई प्राप्त मत र समर्थनप्रति आभार व्यक्त गरेका छन्।

परियारले निर्वाचनको परिणामले आफूलाई निराश वा विचलित नबनाउने बताएका छन्। उनले आफू कुनै गुट वा उपगुटको पक्षमा नलागी लोकतान्त्रिक विधि र पद्धतिअनुसार निर्वाचनमा सहभागी भएको उल्लेख गरेका छन्।

आफूलाई मतदान तथा समर्थन गर्ने क्षेत्रीय प्रतिनिधिहरूप्रति धन्यवाद दिँदै परियारले आगामी दिनमा पनि नेपाली कांग्रेसको चारतारे झण्डामुनि इमानदारी र निष्ठाका साथ राजनीतिक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले निर्वाचनबाट दलित समानुपातिकतर्फ विजयी अमृतबहादुर नेपालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। निर्वाचनमा प्रतिस्पर्धा गरेका कृष्ण सुनार र रामकृष्ण बि.क.प्रति समेत उनले शुभेच्छा व्यक्त गरेका छन्।

परियारले निर्वाचनका क्रममा जिल्लाका अग्रज तथा युवा नेताहरूले देखाएको व्यवहारलाई आफूले स्मरण गर्ने बताएका छन्। साथै, निर्वाचन आयोग, स्वयंसेवक, प्रचारक, शुभेच्छुक तथा आफूलाई विश्वास गरी मतदान गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन्।

परियारले राजनीतिमा पद स्थायी नभए पनि निष्ठा र सम्बन्ध महत्वपूर्ण रहने बताएका छन्। उनले भनेका छन्, ‘राजनीतिमा पद क्षणिक हुन्छ, तर निष्ठा र सम्बन्ध सदा अजम्बरी हुन्छ।’ 

प्रकाशित: १५ आश्विन २०८३ १९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App