१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

ओली र लेखक पक्राउविरुद्ध देउवा पक्षले प्रतिवाद गर्ने

नेपाली कांग्रेसका पुर्वसभापति शेरबहादुर देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोध भने‍को छ।

शनिबार काठमाडौंको ठमेलस्थित रमादा होटलमा बसेको देउवा पक्षीय शीर्ष नेताहरूको बैठकले सरकारको यस कदमविरुद्ध संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकपछि कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले पार्टीको आधिकारिक लेटरप्याडमा विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।

उनले सरकार गठनलगत्तै सुरु भएको यस प्रकारको दुराशयपूर्ण कदमले सरकार संविधान र लोकतन्त्रको मर्मबाट पछाडि हटेको दाबी गरेका छन्।

खड्काले आगामी दिनमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न देशभरिका पार्टी नेता तथा कार्यकर्तालाई तयार रहन अपिल समेत गरेका छन्।

विज्ञप्तिमा सरकारले कानुनी राज्यको उपहास गरेको औंल्याइएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको पेज नम्बर ७२१ मा अनुसन्धान, तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनिएको भए पनि कुनै न्यूनतम कानुनी प्रक्रिया पूरा नगरी हतारमा तत्कालीन सरकारका पदाधिकारीलाई पक्राउ गर्नु पूर्णतः पूर्वाग्रहबाट प्रेरित रहेको खड्काको भनाइ छ।

यसैगरी, देउवा पक्षले कार्की आयोगको प्रतिवेदनलाई पक्षपातपूर्ण भएको टिप्पणी गरेको छ। आयोगको कार्यादेशबमोजिम भदौ २३ र २४ गते दुवै दिनको घटनाको विस्तृत छानबिन गर्नुपर्नेमा प्रतिवेदनले २४ गतेको विध्वंसलाई पूर्ण रूपमा बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ।

भदौ २४ गते भएको मानवीय क्षति, सरकारी संरचनाको तोडफोड, राजनीतिक दलका कार्यालय र व्यापारिक प्रतिष्ठानमाथिको आक्रमण तथा निजी सम्पत्तिको नोक्सानी र त्यसमा संलग्न व्यक्तिहरूबारे प्रतिवेदन मौन रहनुले यसको निष्पक्षता छताछुल्ल भएको देउवा पक्षले दाबी गरेको छ।

प्रकाशित: १४ चैत्र २०८२ १८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App