नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेबिच भएको सहमतिअनुसार कोसी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने पक्का भइसकेको भए पनि एमालेभित्रको मुख्यमन्त्री हुने विवादले नयाँ सरकार गठनमा अलमल देखिएको छ। कोसी प्रदेशमा हाल एमालेकै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार सञ्चालनमा रहेको छ।
मुख्यमन्त्री कार्कीलाई हटाएकाले नयाँ सरकार गठनका लागि एमाले कोसी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई अगाडि सार्ने तयारी गरेको छ, जसका कारण नयाँ सरकार गठनमा सकस उत्पन्न भएको छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कारण नयाँ मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै हुनुपर्ने बाध्यता नरहेको केही नेताहरूको तर्क छ।
यता संविधानको जुनसुकै धाराको मुख्यमन्त्री भए पनि दलको निर्णय र विश्वासको मत लिनुपर्ने भएकाले संसदीय दलको नेता हुँदा हुँदै अन्यलाई मुख्यमन्त्री बनाउन खोजे त्यसले समस्या निम्त्याउने केही नेताहरूको तर्क छ। दुवै खालका तर्क र दाबीको सम्मान गर्दै सजिलो तरिकाले मुख्यमन्त्रीको निर्णय गर्न अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिनुपर्ने नेताहरू पनि देखिएका छन्। यता मुख्यमन्त्री को बन्ने भन्ने विषयमा देखिएको विवादबारे मुख्यमन्त्रीका दाबेदार तिलकुमार मेन्याङ्बोले भने फरक धारणा राखेका छन्। ‘पार्टीले निर्णय गरेपछि विवाद नै बाँकी नरहने उनको दाबी छ। मेन्याङ्बोले भने, ‘कोसीमा कुन पार्टीले मुख्यमन्त्री पाउने भन्ने स्पष्ट भइसकेपछि कसलाई मुख्यमन्त्री बनाउने भन्ने पार्टीले निर्णय गरेपछि टुंगिन्छ।’
उनले आफूलाई मुख्यमन्त्री बनाउने विषय अहिले चर्चामा रहे पनि औपचारिक रूपमा टुंगो नलागेको स्पष्ट पारे। उनले भने, ‘अहिले जे चर्चामा छ त्यो सही नै हो, तर पार्टीले औपचारिक निर्णय गरेर टुंगो लगाउन बाँकी नै छ।’
यता एमाले कोसीका संसदीय दलका प्रमुख सचेतक रमेशकुमार बस्नेतले एमालेकै मुख्यमन्त्री हुने कुरा निश्चित भइसके पनि को बन्ने विषय टुंगो लाग्न बाँकी रहेको बताए।
बस्नेतले प्रदेशमा हाल एमाले र कांग्रेसको सरकार कायम रहेको र नेकपासँग सत्ता साझेदारी सुरु भएपछि कांग्रेसका मन्त्रीहरू बाहिरिने बताए। उनले एमाले–कांग्रेसलाई पनि चिढ्याउने पक्षमा नरहेको स्पष्ट पारे।
उनले भने, ‘हामीले कांग्रेससँग पनि दूरी बढाइहाल्नुपर्ने जरुरी छैन, सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा पनि मुख्य मुद्दाहरूमा सहकार्य गरेरै अघि बढ्छौं।’
नेकपा कोसी संसदीय दलका उपनेता बाबुराम गौतमले कोसीमा कहिले नयाँ सरकार गठन हुने भन्ने विषय एमालेको निर्णयमा निर्भर रहेको बताएका छन्।
कांग्रेसलाई अझै आस
एमाले र नेकपाभित्रको विवाद र असन्तुष्टिका कारण कोसी प्रदेशमा अझै कांग्रेसले सत्तामा रहिरहने आशा गरिरहेको छ। जसका कारण दुई पार्टीबिच नयाँ सरकार गठनको सहमति भएको दुई दिन बितिसक्दासमेत कांग्रेसले मन्त्रीहरू सरकारबाट फिर्ता गरेको छैन।
कोसी प्रदेशमा कुनै पार्टीको सरकार नभएको संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतप्राप्त सांसदको नेतृत्वमा सरकार गठन भएका कारण तत्कालै हटिहाल्नुपर्ने आवश्यकता नरहेको कांग्रेस कोसी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए।
प्रकाशित: ११ श्रावण २०८३ ०९:५१ सोमबार





