सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायाधीशमा सिफारिस भएका व्यक्तिहरूको नियुक्ति प्रक्रियालाई अघि बढाउँदै सार्वजनिक रूपमा उजुरी माग गर्ने निर्णय गरेको हो।
समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार सुनुवाइसम्बन्धी कार्यविधिअनुसार १० दिनको समय दिएर उजुरी आह्वान गरिनेछ।
यसका लागि आगामी कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्न समिति सचिवालयलाई निर्देशन दिइएको छ।
केही दिनअघि बसेको न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस गरेको थियो।
सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
प्रकाशित: २६ आश्विन २०८३ १३:५६ सोमबार





-600x400.jpg)