१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

कम्युनिष्टहरू सङ्घीयतामा विश्वास नै गर्दैनन् : कांग्रेस नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कम्युनिष्टहरूले सङ्घीयतामा विश्वास नै नगर्ने आरोप लगाएका छन्। शुक्रबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन्।

संविधान संशोधनको प्रसङ्ग उतार्दै निधिले त्यो नेपाली कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरे। 'जनतालाई हामीले जुन बाचा गरेका छौँ कि संविधान जारी गरिसकेपछि संशोधन गर्छौँ, त्यो कारणले पनि हामीले संविधान संशोधन गर्नुपरेको छ। यो काम नेपाली कांग्रेसले मात्रै गर्छ, किनभने कम्युनिष्टहरू त सङ्घीयतामा विश्वास नै गर्दैनन्। उसको प्रायोरिटी छँदै छैन। हामीले उसलाई कन्भिन्स गर्ने हो। दुईतिहाइ अहिले त नपुग्ला- कसैले भन्नुभएको छ अहिले पुग्दै पुग्दैन, २०८७ मा पुग्छ,' उनले भने।

उनले संशोधनका लागि सङ्ख्या पुग्छ वा पुग्दैन भन्ने कुराको पछाडि नलाग्नसमेत भनेका छन्। तर, बहस भने सुरु हुनुपर्ने भनाइ निधिको छ। 'हाम्रो सङ्ख्या पुग्दैन अहिले, त्यो कुरा छोडिदिउँ। हामी जुन प्रणाली, विचारधारालाई लिएर अगाडि बढेका छौँ, जनतालाई आश्वस्त गरेका छौँ र हामीलाई लागेको छ यो नै उत्तम प्रणाली हो। त्यसलाई समृद्ध बनाउनका लागि हामीले चाहिँ अभियान चलाइराख्नुपर्छ। राष्ट्रिय बहस, दलीय बहस र देशभर राष्ट्रिय बहस हुनुपर्छ भन्ने कुरामा कांग्रेसले निर्णय गरिसकेको छ,' उनले भने।

यसअघि प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन २०८७ साल मात्रै सम्भव हुने बताएका थिए। गत वर्षको असारमा कांग्रेस-एमालेबीच सत्ता गठबन्धन बनाउने समझदारी हुँदा संविधान संशोधनलाई मुख्य मुद्दा बनाइएको थियो। 

प्रकाशित: ९ श्रावण २०८२ १८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App