नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् ।
नेपाल बुद्धिजीवी संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले केही मानिसले सबै कुरा बिग्रिएको भन्दै निराशाको प्रचार गरिरहेको उल्लेख गरे । अर्कोतर्फ, वास्तविक जटिलतालाई बेवास्ता गरेर केवल सकारात्मक पक्ष मात्रै हेर्ने प्रवृत्ति पनि रहेको उनको भनाइ थियो ।
उनले भने, ‘अहिले हामी जुन विश्वमा बाँचेका छौं, जुन अवस्थामा उभिएका छौं, यसका दुईवटा पाटा छन् । कसैकसैले निराशा देखिरहेका छन्, सबै बर्बाद भयो भन्ने मात्र ठानिरहेका छन् । र उनीहरूले निराशाको प्रचार गरिरहेका छन् । अर्कोतर्फ निराशालाई वास्तै नगरी एउटै पाटोलाई मात्रै हेरेर चल्ने पनि प्रवृत्ति हुनसक्छ ।’
उनले आफूहरू द्वन्द्ववादी दृष्टिकोणमा विश्वास गर्ने भएकाले जटिलता र सम्भावना, निराशा र आशा दुवैलाई सँगसँगै विश्लेषण गर्ने बताए । निराशा चिर्नका लागि त्यसका कारण पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले रोगको पहिचान नगरी उचित उपचार सम्भव नहुने उल्लेख गरे । वास्तविक अवस्था पहिला बुझ्न आवश्यक रहेको उनको भनाइ थियो ।
प्रकाशित: ६ असार २०८३ १७:१६ शनिबार





