२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कम्युनिष्ट एकताले विश्वभर बलियो सन्देश दिएको छ : प्रचण्ड

फाइल तस्बिर

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गतेको एकता घोषणा सभाले विश्वभर बलियो सन्देश दिएको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले बिहीबार गरेको ‘राष्ट्रियस्तरको बृहत् भर्चुअल प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले रणनीतिक रूपले विचार गरेर कम्युनिष्ट आन्दोलनलाई एकता गर्ने सपनाका साथ १९ गते एकता घोषणासभा भएको बताए। उनले भने, 'यो वाम एकता लोकतन्त्रवादी शक्तिहरूलाई एक ठाउँमा आउन गरिएको ऐतिहासिक महत्त्वको रणनीतिक पहल र अपिल हो। राजनीतिक दल तथा लोकतन्त्र र गणतन्त्र सिध्याउने शक्तिका विरुद्ध गरिएको प्रतिवाद हो।'

जेनजी आन्दोलनपश्चात् मुलुकमा उत्पन्न सङ्कट समाधान, संविधान खारेज तथा भयानक अवस्थाबाट बचाउन र राजनीतिक निकासका निम्ति सहजीकरण गर्ने विशेष अवसर प्राप्त भएको जनाउँदै उनले एकता घोषणासभा लोकतान्त्रिक वाम शक्तिहरू एक ठाउँमा आउने ‘बृहत् राष्ट्रिय एकताको आधार’ बन्ने विश्वास व्यक्त गरे। निर्वाचनको वातावरण बनाउन, सङ्कटबाट राष्ट्र जोगाउन पहल गर्नुपर्ने जिम्मेवारी नेकपामा आइपुगेकाले यसमा गम्भीर कदम चाल्नुपर्ने उनको भनाइ थियो।

उनले भने, 'कम्युनिष्ट एकताले जनताको बीचमा भरोसा पैदा गरेको छ। जुन आजको अपरिहार्य आवश्यकता थियो। अब जनसम्बन्ध बढाउन, संविधान र संवैधानिक अधिकार रक्षाका निम्ति प्रगतिशील शक्तिहरूको एकता एवं ध्रुवीकरणको मार्गप्रशस्त भएको छ।' सरकारका गलत क्रियाकलापका कारण जेनजी आन्दोलन हुन गएको उनको टिप्पणी थियो।  

शिक्षक कर्मचारीहरूका जायज मागहरू पूरा गर्न सरकार, सदन र सडकबाट जोडबल गरिँदा पनि पछिल्लो सरकार त्यसप्रति अनुदार बनेको जिकिर गर्दै उहाँले सदनमा तागत नपुग्दा शिक्षक कर्मचारीका माग पूरा हुन नसकेको धारणा व्यक्त गरे। निर्वाचन केन्द्रित हुन र त्यसको माहोल सृजना गर्न पनि उनले शिक्षक कर्मचारीलाई निर्देशन दिए। 

संयोजक प्रचण्डले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण तयारीका लागि सरकारलाई दत्तचित्त भएर लाग्न आग्रह गरे।

प्रकाशित: २१ कार्तिक २०८२ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App