प्रतिनिधि सभामा आइतबार राति भएको तोडफोडसम्बन्धमा अध्ययन गर्न समिति गठन भएको छ। प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक रहेको समितिमा आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहने छन्।
सभामुख डोलप्रसाद अर्यालले आइतबारको बैठक सम्पन्न भएपछि केही सांसदहरुले अमर्यादिन र आपत्तिजनक व्यवहार प्रस्तुत गरेको बताउँदै उक्त विषयमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिएका हुन्।
यसप्रकारको कार्यले प्रतिनिधि सभाको भौतिक सम्पत्तिमा क्षति पुगेको उल्लेख गर्दै उनले तोडफोडसम्बन्धमा मुचुल्का समेत तयार भएको बताए। उनले उक्त विषयमा थप जाँचबुँझ गरी सात दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिए।
प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम आवश्यक कारबही हुने जानकारी समेत उनले दिए।
प्रतिनिधिसभा नियमावली पारित पश्चात आइतबार राति सांसदहरुले संसद् भवनभित्र तोडफोड तथा प्रदर्शन गरेका थिए। नियमावली अनुसार, संसद्को भौतिक संरचनामा भएको क्षति सम्बन्धित सांसदबाटै भराउने व्यवस्था छ।
प्रकाशित: १८ जेष्ठ २०८३ १७:०० सोमबार





