भारतको राजधानी नयाँ दिल्लीमा युवाको नेतृत्वमा चलेको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनका हजारौँ समर्थकले सोमबार संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्।
प्रदर्शनकारीहरूले शिक्षा क्षेत्रमा देखिएका अनियमितता, परीक्षा प्रश्नपत्र चुहावट र सरकारी जवाफदेहिताको माग गर्दै आन्दोलन गरेका हुन्।
प्रदर्शनकारीहरू दिल्लीको जन्तर–मन्तरबाट संसद् क्षेत्रतर्फ अघि बढ्न खोजेका थिए। तर प्रहरीले अनुमति नदिएको भन्दै सुरक्षा व्यवस्था कडा बनाएको थियो।
केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनावसमेत भएको र प्रहरीले भीड नियन्त्रणका लागि लाठी तथा अश्रुग्यास प्रयोग गरेको समाचारहरूमा उल्लेख छ।
‘कक्रोच आन्दोलन’ सुरुमा सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक अभियानका रूपमा सुरु भएको थियो।
बेरोजगार युवालाई ‘कक्रोच’सँग तुलना गरिएको एउटा विवादास्पद टिप्पणीपछि यो अभियानले गति लिएको बताइएको छ। पछि यो शिक्षा प्रणाली सुधार, परीक्षा व्यवस्थापन र सरकारी उत्तरदायित्वको मागसहित ठूलो युवा आन्दोलनमा परिणत भएको हो।
आन्दोलनकारीहरूले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासहित परीक्षा प्रणाली सुधारको माग गरेका छन्। उनीहरूले मेडिकल तथा अन्य प्रतिस्पर्धात्मक परीक्षामा देखिएका प्रश्नपत्र चुहावट र व्यवस्थापकीय कमजोरीप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रदर्शनमा विद्यार्थी, युवा, अभिभावक तथा विभिन्न क्षेत्रका मानिसहरूको सहभागिता रहेको बताइएको छ। आन्दोलनका प्रतिनिधिहरूले सरकारसँग संवादको माग गर्दै आफ्ना माग सम्बोधन नभएसम्म दबाब अभियान जारी राख्ने बताएका छन्।
‘कक्रोच जनता पार्टी’ नाम भए पनि यो परम्परागत राजनीतिक दल नभई युवाहरूले सुरु गरेको आन्दोलनकारी समूहका रूपमा परिचित भएको छ।
पछिल्लो प्रदर्शनले भारतमा युवा असन्तुष्टि र शिक्षा सुधारको विषयलाई फेरि राष्ट्रिय बहसमा ल्याएको छ।
प्रकाशित: ४ श्रावण २०८३ १६:३५ सोमबार





