२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षा र कूटनीतिसँग जोडेर हेर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले जलवायु परिवर्तनलाई वातावरणीय मुद्दामा मात्र सीमित नराखी राष्ट्रिय सुरक्षा र नेपालको अन्तर्राष्ट्रिय कूटनीतिसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

शुक्रबार कांग्रेसले आयोजना गरेको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाललाई जलवायु परिवर्तनका विषयमा पुरानै ढाँचाबाट सोच्ने अवस्था नरहेको स्पष्ट सन्देश दिएको बताए ।

उनले जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र कूटनीतिलाई छुट्टाछुट्टै विषयका रूपमा हेर्ने सुविधा नेपालसँग नरहेको बताए ।

‘हामीले हाम्रो नेसनल सेक्युरिटीको कुरा अर्कै कोठामा बसेर, क्लाइमेट चेन्जको कुरा अर्कै कोठामा बसेर, कूटनीतिको कुरा अर्कै कोठामा बसेर गर्ने ? के यो सुविधा हामीसँग छ ?’ थापाले प्रश्न गरे ।

नेपालका सरकारी तथा सार्वजनिक संस्थाहरूले बहुविषयगत रूपमा काम गर्न सक्ने संरचना विकास गर्नुपर्नेमा उनले जोड दिए । जलवायु परिवर्तनका असरले राष्ट्रिय सुरक्षा, अर्थतन्त्र, जनजीवन र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत प्रभाव पार्ने भएकाले यी विषयलाई एकीकृत ढंगले हेर्नुपर्ने उनको भनाइ थियो ।

थापाले प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघको महासभा तथा कोप सम्मेलनमा नेपालको सहभागितालाई विगतदेखि उठाउँदै आएका जलवायु तथा वातावरणसम्बन्धी मुद्दाको निरन्तरता र दीर्घकालीन राष्ट्रिय हितसँग जोड्नुपर्ने बताए ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारको अवस्थाले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै उनले उद्धार, राहत र पुनःस्थापनासँगै प्रभावित क्षेत्रका नागरिकको दीर्घकालीन जीविकोपार्जनमा समेत राज्यको ध्यान जानुपर्ने बताए ।

रसुवालगायत प्रभावित क्षेत्रमा धेरै परिवारले आफन्त गुमाएको, कतिपयले आफ्ना प्रियजनको शवसमेत प्राप्त गर्न नसकेको र ठूलो संख्यामा नागरिक घरबारविहीन भएको उनले बताए ।

विपद् आएपछि केही दिन चासो दिने र त्यसपछि बिर्सने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा थापाले जोड दिए । उनका अनुसार तत्कालीन उद्धार र राहतसँगै विपद्को कारण, प्रभाव र क्षतिबारे तथ्य तथा प्रमाणमा आधारित अध्ययन गर्नुपर्छ । त्यसकै आधारमा दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनाको काम निरन्तर अघि बढाउन आवश्यक रहेको उनले बताए ।

थापाले विपद् व्यवस्थापन र पुनःस्थापनाका काममा नेपाली कांग्रेसले सरकारलाई निरन्तर साथ, सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

विपक्षी दलका रूपमा आगामी दिनमा संसद्मार्फत विपद् व्यवस्थापन, प्रभावित नागरिकको पुनःस्थापना र दीर्घकालीन समाधानका विषय निरन्तर उठाइरहने पनि उनले बताए ।

प्रकाशित: २ आश्विन २०८३ १९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App