निजामती कर्मचारीले स्वास्थ्य उपचारका लागि काठमाडौंकै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले प्रदेश स्तरमै उक्त अस्पतालको सेवा विस्तार गरेको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोली (सोमबार) देखि नै लागू हुने गरी विभिन्न प्रदेश अस्पतालहरूबाट कर्मचारीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो।
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार काठमाडौं उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारको सहजताका लागि यो नीति ल्याइएको हो।
‘हाम्रो मुख्य उद्देश्य कर्मचारी र उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उनीहरूकै प्रदेशमा उपलब्ध गराउनु हो,’ मन्त्री रावलले भनिन्, ‘यसले कर्मचारीहरूको समय र खर्च दुवैको बचत गर्नेछ र उनीहरूको मनोबल उच्च बनाउन सहयोग पुग्नेछ।’
सेवा विस्तारको पहिलो चरणमा मन्त्रालयले मधेस र बागमती प्रदेशका दुई ठुला अस्पतालहरूसँग सम्झौता गरिसकेको छ। मधेस प्रदेशका लागि वीरगन्जस्थित नारायणी अस्पताल र बागमती प्रदेशका लागि चितवनको भरतपुर अस्पतालबाट कर्मचारीहरूले सिभिल अस्पतालले दिने सरहकै सेवा प्राप्त गर्नेछन्।
यी दुवै अस्पताल र मन्त्रालयबीच आइतबार औपचारिक सम्झौता भएसँगै सोमबारदेखि नै सेवा प्रवाह सुरु हुने मन्त्रालयले जनाएको छ। यस सम्झौता अनुसार अब निजामती कर्मचारीहरूले सिभिल अस्पताल काठमाडौंबाट पाउँदै आएका सबै प्रकारका छुट र सहुलियतहरू यी तोकिएका प्रदेश अस्पतालहरूबाटै पाउने छन्।
सेवा प्राप्त गर्नका लागि कर्मचारी वा अवकाशप्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालले जारी गरेको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने व्यवस्था गरिएको छ।
परिचयपत्र देखाएपछि मात्र अस्पतालले तोकिएको सहुलियत दरमा उपचार सेवा प्रदान गर्नेछ।
मधेस र बागमती प्रदेशपछि अन्य प्रदेशहरूमा पनि छिट्टै सेवा विस्तार गर्ने तयारीमा सरकार जुटेको छ। यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय भई अन्य प्रदेशका सेवा प्रदायक अस्पतालहरूको सूचीकरण समेत भइसकेको छ।
अन्य प्रदेशका कर्मचारीहरूले पनि केही दिनभित्रै यो सुविधा पाउने गरी आवश्यक प्राविधिक र प्रशासनिक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयको भनाइ छ।
प्रकाशित: २४ जेष्ठ २०८३ १९:५२ आइतबार





