नेपाली कांग्रेसकी सांसद् सीता थपलियाले विनाशकारी बाढीका कारण देशमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा राज्य थप जिम्मेवार बन्नुपर्ने बताएकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै सांसद् थपलियाले बाढी आएको नवौँ दिनसम्म पनि त्रिशूली–३ ए, ३ बीलगायत जलविद्युत् आयोजनामा सयौँ कामदार फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको विषय गम्भीर रहेको बताइन्।
उनले बेपत्ता नागरिकका परिवार राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न बाध्य भएको उल्लेख गरिन्। उनका अनुसार सरकारले सातौँ दिनमा मात्रै आयोजनालाई सुरुङबाट उद्धार गर्न नसकिएको भन्दै आफैँ उद्धारमा जुट्न आग्रह गरेको थियो।
“राज्यको पहिलो दायित्व आफ्ना नागरिकको जीवन रक्षा गर्नु हो,” सांसद् थपलियाले भनिन्, “नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्नु हुँदैन। तर आज राज्य चुकिरहेको अनुभूति नागरिकहरूले गरिरहेका छन्।”
धादिङमा भयावह क्षति
सांसद् थपलियाले आफ्नो जिल्ला धादिङमा बाढीले ठूलो क्षति पुर्याएको जानकारी दिइन्। उनका अनुसार जिल्लामा हालसम्म १४४ जना बेपत्ता भएका छन् भने तीमध्ये १० जनाको शव पहिचान भइसकेको छ।
आफूले बाल्यकालदेखिको साथीसमेत गुमाएको उल्लेख गर्दै उनले बाढीबाट भएको मानवीय क्षतिले आफूलाई गहिरो पीडा दिएको बताइन्। अन्य बेपत्ता व्यक्तिको अवस्था अझै अज्ञात रहेको भन्दै उनले धादिङ शोकमा रहेको बताइन्।
बाढीका कारण धादिङमा करिब ५०० घरपरिवार विस्थापित भएको, ६ वटा पक्की पुल र १३ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएको उनले जानकारी दिइन्। हजारौँ रोपनी खेतीयोग्य जमिन नदी कटानमा परेको तथा निजी तथा सरकारी विद्यालय, पेट्रोल पम्प, होटल र रिसोर्टलगायतका संरचनामा समेत ठूलो क्षति पुगेको उनको भनाइ छ।
उनका अनुसार धादिङका चार गाउँपालिका बाढीबाट प्रभावित भएका छन्। गजुरी र गल्छी गाउँपालिकामा भने अत्यधिक क्षति भएको उनले बताइन्।
स्थानीय तहले प्रभावित क्षेत्रमा दिनरात नभनी उद्धार तथा राहत वितरणको काम गरिरहेको उल्लेख गर्दै सांसद् थपलियाले स्थानीय जनप्रतिनिधिमाथि मिथ्या आरोप लगाएर पीडितमाथि थप पीडा दिने काम नगर्न आग्रह गरिन्। राहत वितरण प्रक्रियामा स्थानीय जनप्रतिनिधिलाई विश्वास गर्नुपर्ने उनको भनाइ छ।
पृथ्वी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग
सांसद् थपलियाले संघीय राजधानी काठमाडौं जोड्ने प्रमुख मार्ग पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको कटानका कारण पाँच दिनदेखि यातायात ठप्प रहेको भन्दै तत्काल सडक सञ्चालनको व्यवस्था गर्न सरकारसँग माग गरिन्।
सडक अवरुद्ध हुँदा यात्रुका साथै खाद्यान्न, औषधि, इन्धनलगायत अत्यावश्यक सामग्रीको आपूर्तिमा समेत गम्भीर समस्या उत्पन्न हुन थालेको उनले बताइन्।
त्यसैगरी, त्रिशूली नदीमाथि रहेको फुर्के खोलाको पक्की पुल बगाएपछि जिल्ला सदरमुकाम तथा राजधानीसँगको सम्पर्कमा समस्या उत्पन्न भएको भन्दै उनले तत्काल बेलिब्रिज निर्माण गरी सडक सम्पर्क पुनःस्थापित गर्न सरकारसँग जोडदार माग गरिन्।
राहत र पुनःस्थापनामा तीन तहका सरकारबीच समन्वय आवश्यक
सांसद् थपलियाले बाढीमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।
राज्यले उपलब्ध गराउने राहतलाई व्यवस्थित बनाउन स्थानीय सरकारलाई थप प्रभावकारी बनाउनुपर्ने, प्रदेश सरकारले समन्वयको भूमिका निर्वाह गर्नुपर्ने तथा संघीय सरकारले अनुगमनसँगै राहत, उद्धार र पुनःस्थापनाका लागि स्पष्ट मापदण्डसहितको प्याकेज बनाएर कार्यान्वयन गर्नुपर्ने उनले बताइन्।
उनले विपद्को यस कठिन समयमा सरकारसँगै रहेको भन्दै उद्धार, राहत र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन्।
प्रकाशित: १८ भाद्र २०८३ १५:०१ बिहीबार





