२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

विश्वासको मत लिँदै मुख्यमन्त्री यादव : सुरक्षामा कुकुर परिचालन, सुरु भएन प्रदेशसभा

बिहान साढे आठ बजे बोलाइएको मधेश प्रदेशसभाको बैठक अझैसम्म सुरु भएको छैन। मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार विश्वासको मत लिनका लागि सचिवालयमा पत्र पठाएपछि उपसभामुख बबिता राउतले बैठक आह्वान गरेकी हुन्।  

प्रदेशसभा भित्र कार्य व्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ भने बाहिर सांसदहरू बसिरहेका छन्। आज प्रदेशसभा बैठकमा सुरक्षा व्यवस्था कडा पारिएको छ। तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा जाँच गरिएको छ।  

प्रदेशसभामा रहेको सुरक्षा जाँच गर्ने मेसिन जेनजी आन्दोलनको क्रममा जलेर नष्ट भएपछि तालिम प्राप्त कुकुर ल्याएर जाँच गर्ने गरिएको छ।  

गत कार्तिक २४ गते बिहान बार्दिबासस्थित एक होटेलमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।  

यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेससहित सात दलका ७४ सांसदले उनको नियुक्ति खारेजीको माग राखी सर्वोच्च अदालतमा रिट दिएका थिए।  

ती रिटमा सर्वोच्चले फैसला सुनाउँदै सोमबार २४ घण्टाभित्र प्रदेश सभाबाट विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो। तर मुख्यमन्त्री यादवले आफूलाई मंगलबार दिउँसो तीन बजे उक्त परमादेशपत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको भन्दै दिउँसो ३ बजे विश्वासको मतका लागि व्यवस्था मिलाइदिन सचिवालयमा पत्र पठाएका थिए।

प्रकाशित: १७ मंसिर २०८२ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App