सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण निर्णायक मोडमा पुगेको छ।
विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्।
प्रदेशसभाको बैठक आज साँझ ५ बजे बोलाइएको छ। बैठकमा मुख्यमन्त्री शाहले सम्बोधन गरेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरिएको हो।
गत असार ३१ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि आजै पूरा हुँदैछ। यस्तो अवस्थामा प्रदेशसभाबाट विश्वासको मत लिनुभन्दा राजीनामाको बाटो रोज्न शाह तयार भएका हुन्।
मुख्यमन्त्रीको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। नयाँ सत्ता समीकरणका लागि नेकपा र नेकपा एमालेबीच सहमति भइसकेको बताइएको छ।
सहमति कार्यान्वयन भए नेकपाको नेतृत्वमा नयाँ प्रदेश सरकार बन्ने तयारी छ। यसले सुदूरपश्चिमको सत्ता नेतृत्वमा मात्र परिवर्तन ल्याउने छैन, प्रदेशसभाभित्रको राजनीतिक समीकरणलाई समेत नयाँ दिशामा अघि बढाउने देखिएको छ।
यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक पनि बुधबार बसेको थियो। अब मुख्यमन्त्री शाहको राजीनामा, प्रदेश प्रमुखको आगामी कदम र नयाँ सरकार गठनका लागि दलहरूबीच हुने औपचारिक प्रक्रियाले प्रदेशको राजनीतिक भविष्य तय गर्नेछ।
प्रकाशित: २८ श्रावण २०८३ १२:२५ बिहीबार




-600x400.jpg)
