२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासे काममा हुने ढिलासुस्ती र लापरबाही सह्य नहुने बताएका छन्। मंगलबार प्रदेश मातहतको  पूर्वाधार विकास कार्यालय साँफेबगर अछामको समीक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो चेतावनी दिएका हुन्। 

‘विकास–निर्माणमा ढिलाइ अब क्षम्य हुँदैन,’ मुख्यमन्त्री शाहले भने, ‘जनताको करबाट आएको बजेट दुरुपयोग, लापरबाही वा बहानाबाजी सह्य हुँदैन।’ समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई अब कुनै छुट नदिइने पनि उनले बताए। ‘समयमै काम नसक्ने वा जनताको अपेक्षा विपरीत आयोजनाहरू अलपत्र पार्ने कुनै पनि ठेकेदार कम्पनी, मन्त्रालयअन्तर्गतका कार्यालय तथा आयोजनाका जिम्मेवार निकायलाई छुट हुने छैन,’ मुख्यमन्त्री शाहले भने। 

पूर्वाधार विकास कार्यालय साँफेबगरले अछाम र बाजुरा जिल्लामा आयोजना निर्माणका कामको व्यवस्थापन गर्छ। सोही कार्यालयद्वारा आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्मका १२ वटा समस्याग्रस्त बहु वर्षीय सडक आयोजनाबारे मंगलबार धनगढीमा समीक्षा गोष्ठीको आयोजना गरिएको थियो।

सोही कार्यक्रममा जिल्लामा सडक आयोजना लामो समयदेखि ढिलाइ र अलपत्र पारेको व्यापक गुनासो आइरहेको पनि मुख्यमन्त्री शाहले बताए। यस्तै उनले बाजुरा जिल्लाको मार्तडी–कोल्टी रोड (जिल्ली क्षेत्र) मा गएको पहिरो व्यवस्थापनसहित आवागमन सहज बनाउन पनि निर्देशन दिए। 

प्रकाशित: २३ मंसिर २०८२ २०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App