२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री पाण्डेले गरे क्षतिग्रस्त सरकारी कार्यालयको निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका तनहुँका सरकारी कार्यालयको आज निरीक्षण गरेका छन्। गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी भएका विभिन्न कार्यालयको मुख्यमन्त्री पाण्डेले निरीक्षण गरेका हुन्।

मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालयको निरीक्षण गर्दै क्षतिको विवरणबारे चासो राखेका थिए। त्यस क्रममा मुख्यमन्त्री पाण्डेले कार्यालयबाट हाल भइरहेका सेवाप्रवाहबारे जानकारी लिएका छन्।

त्यस क्रममा मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालयका विभिन्न कक्ष, प्रमुख जिल्ला अधिकारीको निवास, अदालतका इजलास र विभिन्न कक्षको निरीक्षण गरेका छन्।

उनले आन्दोलनबाट गण्डकी प्रदेशका धेरै जिल्लामा क्षति पुगेको बताउँदै वैकल्पिक व्यवस्थाका माध्यमबाट जनतालाई सजिलै सेवा प्रवाह गर्न आग्रह गरे।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले हाल कार्यालयबाट नयाँ नागरिकता र प्रतिलिपिको काम सुरु गरिसकेको बताए।

आगजनी र तोडफोडबाट प्रशासन कार्यालयको भवन पुनः प्रयोग गर्न असुरक्षित रहेकाले अन्य कार्यालयमा व्यवस्थापन गरेर कार्यालयको सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनले बताए।

उनले भने, “हामीले केही कार्यालय हेरेर प्रशासन कार्यालय स्थानान्तरण गर्ने विषयमा पनि हेर्‍यौं, हालको कृषि ज्ञान केन्द्र अन्यभन्दा उपयुक्त देखिएको छ।”

निरीक्षणका क्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, प्रहरी उपरीक्षक टेकबहादुर कार्की लगायतकाे उपस्थित थिए।

प्रकाशित: २२ आश्विन २०८२ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App