राउटे समुदायको मौलिक जीवनशैली, भाषा, संस्कृति र पहिचान संरक्षणसँगै शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नुपर्नेमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जोड दिएका छन्।
सुर्खेतबाट आएको राउटे समुदायको तीन सदस्यीय टोलीसँगको भेटमा मुख्यमन्त्री पाण्डेले उनीहरूको संरक्षण र अधिकार सुनिश्चित गर्नु सबै पक्षको साझा दायित्व भएको बताए।
मुख्यमन्त्रीसँगको भेटमा राउटे समुदायका मुखिया प्रकाशले आफ्नो समुदायको वर्तमान अवस्था, दैनिकी, जीवनशैली र भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए। उनले समुदायको मौलिक संस्कृति र परम्पराबारे पनि मुख्यमन्त्रीलाई अवगत गराए।
भेटका क्रममा राउटे प्रतिनिधिले आफ्नै हातले काठबाट तयार पारेको ‘कोटी’ अर्थात् कचौरा मुख्यमन्त्री पाण्डेलाई उपहार दिएका थिए।
मुख्यमन्त्री पाण्डेले राउटे समुदायको मौलिक जीवनशैली, भाषा, संस्कृति र पहिचान जोगाउँदै उनीहरूलाई शिक्षा, स्वास्थ्य, सुरक्षा तथा आधारभूत आवश्यकतामा सहज पहुँच दिलाउनुपर्ने बताए।
भेटको अन्त्यमा मुख्यमन्त्री पाण्डेले राउटे प्रतिनिधिलाई बाटो खर्चका लागि ५० हजार रुपैयाँ सहयोग गरेका थिए।
राउटे समुदायका प्रतिनिधि विभिन्न स्थानमा पुगेर स्वेच्छिक सहयोग संकलन गर्दै जीविकोपार्जन गर्ने गर्छन्। उनीहरूले प्राप्त गर्ने सहयोगबाट आफ्नो दैनिक गुजारा चलाउँदै आएका छन्।
प्रकाशित: ८ मंसिर २०८३ २०:१७ मंगलबार





